१५ घण्टादखि बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध

१५ घण्टादखि बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २०, मंगलवार ०९:१०
१५ घण्टादखि बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध

बुटवल : अविरल वर्षाका कारण बुटवल-पाल्पा सडकखण्ड १५ घण्टादखि अवरुद्ध भएको छ। सोमबार साँझदेखि ठाउँ ठाउँमा गएको पहिरो र ढुंगा झरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। बुटवल-पाल्पा सडक अन्तर्गत तिनाउ-३ सिद्धबाबा नजिकै ढुंगा सहितको पहिरो गएको छ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार माथिबाट ढुंगा सहितको पहिरो हटाउन समय लाग्ने भएकाले बाटो अवरुद्ध भएको हो। मंगलबार (आज) बिहान सम्म वर्षाका कारण पहिरो हटाउन नसक्दा सडक अवरुद्ध भएको हो।

ADVERTISEMENT

लगातार वर्षा भइरहेकाले जोखिम महसुस गरेर गाडी सञ्चालनमा रोक लगाइएकाले क्षति हुन नपाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले बताए।

उनले गाडी सञ्चालनमा रोक लगाएपनि वर्षातले धेरै ठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएको बताए। ‘बिहानदेखि डोजरले पहिरो हटाउने काम भइरहेको छ’ उनले भने। उनका अनुसार धेरै ठाउँमा पहिरो गएकाले पहिरो पन्छाउने वितिकै सडक सुचारु हुने बताए।

पाल्पा दोभानका स्थानीय विष्णुप्रसाद पाण्डेयले दर्जनौं ठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएको बताएका छन्। उनले सडक सुचारु हुन अझै केही समय लाग्ने बताए।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल हुँदै पाल्पा,गुल्मी, स्याङजा, पोखरासम्म जाने गाडीहरु बुटवल चिडिया खोलामा रोकिएका छन्।

निरन्तरको वर्षाका कारण यस क्षेत्रमा सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ। वर्षाको समयमा पहिरो खस्नुका साथै ढुंगा सडकमा खस्ने भएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न र गर्नै परे सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति: २०८२ श्रावण २०, मंगलवार ०९:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !