जैन तीर्थस्थलको संरक्षण र विकासमा मुख्यमन्त्री सिंहको जोड

जैन तीर्थस्थलको संरक्षण र विकासमा मुख्यमन्त्री सिंहको जोड
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १८, आईतवार २०:४०
जैन तीर्थस्थलको संरक्षण र विकासमा मुख्यमन्त्री सिंहको जोड

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जैन धर्मका १९औँ तीर्थंकर भगवान श्री मल्लिनाथ र २१औँ तीर्थंकर भगवान श्री नमिनाथको जन्म, दीक्षा र ज्ञान प्राप्तिको स्थलको अवलोकन गरेका छन्। उनले ती स्थलहरूको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई दृष्टिगत गर्दै समुचित संरक्षण र विकासको आवश्यकता औँल्याएका छन्।

ADVERTISEMENT

मुख्यमन्त्री सिंहले आइतबार धनुषाको शहिदनगर नगरपालिका–७ नेमुवाटोल र महोत्तरीको जलेश्वर नगरपालिका–४ मलीवाडा क्षेत्रको अवलोकन गरेका हुन्। ती स्थलहरू जैन धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र तीर्थस्थलका रूपमा चिनिन्छन्।

“भगवान श्री मल्लिनाथ र नमिनाथको जन्मस्थलीलाई व्यवस्थित रूपमा विकास गर्न सके यस क्षेत्रको धार्मिक गौरव बढ्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धन, धार्मिक सहिष्णुता र स्थानीय समृद्धिमा योगदान पुग्नेछ,” मुख्यमन्त्री सिंहले बताए।

उनले ती क्षेत्रहरूको सम्भाव्यताका विषयमा सरोकारवालासँग छलफलसमेत गरेका छन्। अवलोकनपछि मुख्यमन्त्री सिंहले जग्गा व्यवस्थापनको प्रक्रिया अघि बढेको जानकारी दिँदै जैन धर्मावलम्बीहरूले ती स्थलमा भव्य मन्दिर निर्माण गर्न देखाएको तदारुकता प्रशंसनीय रहेको धारणा राखे।

“यी ऐतिहासिक र पवित्र तीर्थस्थलहरूको संरक्षण तथा विकासका लागि प्रदेश सरकार आवश्यक पहल गर्न प्रतिबद्ध छ,” सिंहले भने।

उक्त स्थलहरूमा धार्मिक पर्यटनको सम्भावना उच्च रहेको भन्दै मुख्यमन्त्रीले संरचना निर्माणमा सहयोग गर्ने स्थानीय समुदाय, संघसंस्था र धार्मिक निकायहरूसँग सहकार्यको वातावरण तयार पारिने जानकारी दिए।

उक्त अवलोकनमा जनमत पार्टी धनुषा ईन्चार्ज सुरेन्द्र मण्डल ,प्रदेश सदस्य राम पुकार यादवसहित पार्टीका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ श्रावण १८, आईतवार २०:४०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !