डिप बोरिङका लागि लालपुर्जाको प्रावधान हटाउन डा.सीके राउतको माग

डिप बोरिङका लागि लालपुर्जाको प्रावधान हटाउन डा.सीके राउतको माग
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १३, मंगलवार १५:४०
डिप बोरिङका लागि लालपुर्जाको प्रावधान हटाउन डा.सीके राउतको माग

जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले डिप बोरिङजस्ता कृषि योजनाका लागि अनिवार्य गरिएको लालपुर्जाको प्रावधान हटाउन माग गरेका छन्।

उनले सो प्रावधानका कारण सामान्य किसान योजनाबाट वञ्चित हुने अवस्था सिर्जना भएको भन्दै संघीय सरकारको ध्यानाकर्षण गराएका हुन्।

ADVERTISEMENT

डा. राउतले आफ्नै सचिवालयमार्फत सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, “कृषि मन्त्रालयका मन्त्रीज्यू, सचिवज्यू, मातहतका कार्यालय प्रमुखज्यूहरू, कृषि ज्ञान केन्द्रका प्रमुखज्यूहरू: लालपुर्जा जम्मा गर्नुपर्ने अनावश्यक दुःख किन ?”

उनका अनुसार डिप बोरिङका लागि आवश्यक भनिएको लालपुर्जाको झन्झटिलो प्रक्रियाले योजना आएपछि पनि कार्यान्वयनमा समस्या देखिएको छ। मधेसका अधिकांश किसानसँग नागरिकताको प्रतिलिपि बुझाउन पनि हिच्किचाहट हुने गरेको उल्लेख गर्दै उनले भनेका छन्, “४०–४० बिघाको लालपुर्जा कहाँबाट ल्याउने? फेरि एक जनासँग मुस्किलले २–४ कट्ठा जमिन हुन्छ। त्यसो गर्दा त २००–४०० जना किसानबाट सहमति र समन्वय गरेर लालपुर्जा जम्मा गर्नुपर्छ, जुन व्यवहारतः असम्भव छ।”

उनले यस्तो प्रणालीले डिप बोरिङ जस्ता कृषि योजना ठूला जमिन्दारहरूका लागि मात्रै सुलभ बनाइदिएको आरोप लगाएका छन्। सामान्य किसान योजना उपयोग गर्नै नसक्ने अवस्थाले कृषि क्षेत्रको समावेशी विकासमा बाधा पुगिरहेको डा. राउतको तर्क छ।

उनले तत्काल उक्त प्रावधान हटाएर किसानमैत्री र व्यवहारिक प्रणाली ल्याउन सरकारलाई आग्रह गरेका छन्।

 

प्रकाशित मिति: २०८२ श्रावण १३, मंगलवार १५:४०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !