मधेशको खडेरी समाधानका लागि तीन तहको सरकार एकजुट हुनुपर्छ : चन्दन सिंह

मधेशको खडेरी समाधानका लागि तीन तहको सरकार एकजुट हुनुपर्छ : चन्दन सिंह
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ९, शुक्रबार ११:०८
मधेशको खडेरी समाधानका लागि तीन तहको सरकार एकजुट हुनुपर्छ : चन्दन सिंह

काठमाडौं : जनमत पार्टीका महासचिव तथा पूर्वमन्त्री चन्दन सिंहले मधेश प्रदेशमा फैलिएको खडेरी समस्याको समाधानका लागि संघ, प्रदेश र स्थानीय तह तीनवटै सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिएका छन्। उनले खडेरीको मुख्य कारण प्राकृतिक स्रोतको अत्यधिक दोहन र जलवायु परिवर्तन रहेको बताए।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता सिंहले भने, ‘‘प्राकृतिक स्रोतको चरम दोहन भएको छ। यसको गहिरो असर अहिले मधेशमा देखिएको छ। जलवायु संकटको व्यापक प्रभाव नेपालमा परेको छ। वर्षा नहुँदा मधेश जस्तो कृषिमा आधारित क्षेत्रमा ठूलो खडेरी परेको हो। चुरे क्षेत्रको अत्यधिक दोहन खडेरीको प्रमुख कारण हो।’’

ADVERTISEMENT

उनले मधेश प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले लिएको एक वर्ष पूरा भएको उल्लेख गर्दै, अधिकारसम्पन्न नभएको कारण काम गर्न कठिनाइ भएको जनाए। ‘‘हामीले मधेशमा सरकारको नेतृत्व गरेको एक वर्ष भयो। तर, अधिकार प्रत्यायोजन नहुँदा अपेक्षाअनुसार काम गर्न सकिएको छैन,’’ सिंहले भने, ‘‘संविधानअनुसार अधिकारको प्रत्योजन हुनैपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ।’’

उनका अनुसार चुरे क्षेत्रको दोहनले मधेशमा मरुभूमीकरण निम्तिएको छ। ‘‘अहिले मधेशका किसानहरू गम्भीर समस्यामा छन्। रोपाइँ प्रभावित भएको छ। कतै धान रोपिएको छ, तर खेत चिराचिरा परेको अवस्था छ,’’ उनले भने, ‘‘तीन तहको सरकारबीच समन्वयको अभावले समस्या समाधान हुन सकेको छैन।’’

सिंहले मधेशमा पूर्ण सिँचाइको व्यवस्था गर्न आग्रह गर्दै भने, ‘‘जबसम्म मधेशमा सिँचाइको स्थायी समाधान हुँदैन, तबसम्म देशले समृद्धि हासिल गर्न सक्दैन। सिँचाइको अभावका कारण देश नै गरिबीको चपेटामा पर्न सक्छ। त्यसैले मधेशलाई पूर्ण सिँचाइको दायरामा ल्याउनुपर्छ।’’

उनका अनुसार खडेरीको तत्कालीन असर कम गर्न जनमत नेतृत्वको सरकार सक्रिय छ। ‘‘खानेपानीको समस्याको विषयमा प्रदेश सरकार संवेदनशील छ। वारुणयन्त्रमार्फत टोल–टोलमा पानी वितरण भइरहेको छ,’’ उनले जानकारी दिए। साथै उनले केन्द्र सरकारसँग राहतका लागि आग्रह गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले सहयोगको आश्वासन दिएको बताए।

सिंहले मधेशका अधिकांश गाउँ–टोलका पानीका मुहान सुकेको भन्दै जलस्रोत रिचार्जको आवश्यकता औंल्याए। ‘‘जमिनमुनिको स्रोत नै सुकेको अवस्था छ। सुनकोशी–मरिन र सुनकोशी–कमला डाइभर्सनमार्फत पानी ल्याउनु जरूरी छ। जमिनको रिचार्ज गर्न सकेमात्र दीर्घकालीन समाधान सम्भव हुन्छ,’’ उनले भने, ‘‘मधेशको सिँचाइ भए देश भोकमरीबाट मुक्ति पाउँछ। अहिलेको संकटलाई राष्ट्रिय मुद्दा बनाएर समाधान खोज्नुपर्छ।’’

उनले मधेशमा जनमतको मात्रै नभई चार दल मिलेर सरकार गठन भएको स्मरण गराउँदै भ्रष्टाचार नियन्त्रणका लागि संयुक्त संयन्त्र निर्माणको आवश्यकता रहेको बताए। ‘‘सिस्टम अझै पुरानै छ। ०४६ सालदेखि चलिरहेको प्रणालीले विकासमा अवरोध पु-याएको छ। जनमतले सरकार चलाएको एक वर्षमै भ्रष्टाचारको आरोप लगाउनु गलत हो,’’ सिंहले स्पष्ट पारे।

प्रकाशित मिति: २०८२ श्रावण ९, शुक्रबार ११:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !