जनकपुरको होटलमा विभत्स हत्या: धारिलो हतियार प्रहारपछि एक तला तल झारियो

जनकपुरको होटलमा विभत्स हत्या: धारिलो हतियार प्रहारपछि एक तला तल झारियो
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ४, आईतवार १९:०३
जनकपुरको होटलमा विभत्स हत्या: धारिलो हतियार प्रहारपछि एक तला तल झारियो

जनकपुरधाम : मधेश प्रदेशका राजधानी जनकपुरधामको एक होटलमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरिएको छ।

धनुषा प्रहरीले दिएको जानकारीअनुसार महोत्तरी गाउँपालिका–१ पर्सा निवासी २८ वर्षीय बिमलेश यादव (शनि) को हत्या गरिएको हो।

ADVERTISEMENT

शनिबार राति करिब ३ बजेतिर जनकपुर उपमहानगरपालिकास्थित जिरोमाइलमा रहेको ‘होटल एसपी एन्ड गेस्ट हाउस’मा धारिलो हतियार प्रहारपछि यादवलाई एक तला माथिबाट तल खसालिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते अवस्थामा भेटिएका उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याइएको थियो। तर उपचारकै क्रममा आइतबार बिहान ७:४५ बजे मृत्यु भएको धनुषा प्रहरीका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार यादव घटनाको राति एक युवतीसँगै होटलमा बस्न गएका थिए। प्रारम्भिक अनुसन्धानमा ती युवतीकै संलग्नतामा हत्या भएको आशंका गरिएको छ। प्रहरीले घटनास्थलबाट केही प्रमाणहरू संकलन गरी अनुसन्धान थालेको जनाएको छ।

‘घटनाको प्रकृति हेर्दा योजनाबद्ध हत्या भएको हुनसक्ने देखिन्छ,’ एक अनुसन्धान अधिकृतले नाम नखुलाउने शर्तमा भने, ‘युवती फरार छिन्, उनको खोजी भइरहेको छ।’

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाबारे जिल्ला प्रहरी कार्यालय धनुषाले थप अनुसन्धान जारी राखेको छ।

 

प्रकाशित मिति: २०८२ श्रावण ४, आईतवार १९:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !