सत्तारुढ गठबन्धनसँगको छलफलमा उपेन्द्र यादवको माग: उपप्रधानमन्त्री र प्रभावशाली मन्त्रालय चाहियो

सत्तारुढ गठबन्धनसँगको छलफलमा उपेन्द्र यादवको माग: उपप्रधानमन्त्री र प्रभावशाली मन्त्रालय चाहियो
मधेशपत्र मधेशपत्र २०८२ असार ३१, मंगलवार ११:०९
सत्तारुढ गठबन्धनसँगको छलफलमा उपेन्द्र यादवको माग: उपप्रधानमन्त्री र प्रभावशाली मन्त्रालय चाहियो

काठमाडौं : सत्तारुढ गठबन्धनभित्र सरकार विस्तार र सन्तुलन कायम गर्न जारी छलफलमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्रीसहित प्रभावशाली मन्त्रालयको माग गरेका छन्।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष यादवले आफूलाई उपप्रधानमन्त्रीसहित ‘मालदार’ मन्त्रालय दिए मधेश प्रदेशको मुख्यमन्त्री पद कांग्रेसलाई दिन तयार रहेको संकेत गरेका हुन्।

ADVERTISEMENT

सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेसँगको यो सहमतिको प्रयासमा लुम्बिनी प्रदेशमा समेत जसपाका मन्त्री सहभागी गराउने सहमति भएको छ। त्यस्तै, नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई समेत सरकारमा सहभागी गराउने गरी एउटा मन्त्रालय दिने विषयमा पनि छलफल भएको स्रोतले बताएको छ।

बैठकमा सहभागी एक कांग्रेस नेता भन्छन्, “उपेन्द्र यादव सत्ताबाट बाहिर धेरै समय बस्न सक्ने नेता होइनन्। मालदार मन्त्रालय पाएपछि उनका माग स्वतः पूरा हुन्छन् भन्ने बुझाइ छ। सत्ता जोगाउने रणनीतिमा उनी निकै चातुर छन्।”

भेटमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, एमाले महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र जसपा नेता राजकिशोर यादव सहभागी थिए।

सरकार विस्तार र गठबन्धनको आन्तरिक समीकरण मिलाउने प्रयासस्वरूप यो छलफल भएको हो। प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई पूर्णता दिने तयारी अन्तिम चरणमा पुगेको संकेतसहित नेताहरूबीच नियमित छलफल जारी छ।

 

प्रकाशित मिति: २०८२ असार ३१, मंगलवार ११:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !