मधेश सरकारको ७१ प्रतिशत बजेट खर्च: चालुतर्फ ६४.६४ र पुँजीगततर्फ ७५.१४ प्रतिशत खर्च

मधेश सरकारको ७१ प्रतिशत बजेट खर्च: चालुतर्फ ६४.६४ र पुँजीगततर्फ ७५.१४ प्रतिशत खर्च
सुरेश ठाकुर सुरेश ठाकुर २०८२ असार २६, बिहीबार ०९:०१
मधेश सरकारको ७१ प्रतिशत बजेट खर्च: चालुतर्फ ६४.६४ र पुँजीगततर्फ ७५.१४ प्रतिशत खर्च

जनकपुरधाम : मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म आइपुग्दा ७१ प्रतिशतभन्दा बढी बजेट खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रण कार्यालय मधेशका अनुसार २५ असार राति १२ बजेसम्म कुल बजेटको ७१.४४ प्रतिशत खर्च भइसकेको छ।

लेखा कार्यालयका अनुसार चालुतर्फ ६४.६४ प्रतिशत र पुँजीगततर्फ ७५.१४ प्रतिशत बजेट खर्च भएको छ। चालु आवमा प्रदेश सरकारले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट विनियोजन गरेकोमा ३१ अर्ब ३७ करोड ५२ लाख ४७ हजार रुपैयाँ खर्च भइसकेको हो।

ADVERTISEMENT

मन्त्रालयगत खर्च विवरण हेर्दा सबैभन्दा बढी बजेट खर्च गर्नेमा प्रदेश सरकारकै अर्थ मन्त्रालय अगाडि देखिएको छ। मन्त्रालयले कुल बजेटको ८३.३६ प्रतिशत खर्च गरेको छ। त्यसपछि भौतिक पूर्वाधार विकास मन्त्रालयले ७८.२०, वन तथा वातावरण मन्त्रालयले ७७.४५ र खेलकुद तथा समाज कल्याण मन्त्रालयले ६९.३१ प्रतिशत खर्च गरेका छन्।

त्यसैगरी, सबैभन्दा कम खर्च गर्ने मन्त्रालयको सूचिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय परेको छ। उक्त कार्यालयले हालसम्म जम्मा ३४.०६ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ।

सरकारले गत वर्षको तुलनामा यस वर्ष पुँजीगत खर्चको अनुपात केही वृद्धि गरेको भए पनि अधिकांश मन्त्रालयको बजेट खर्चको गति असमान देखिएको छ। नीति तथा कार्यक्रम कार्यान्वयनमा कमजोरी, ढिलासुस्ती, समयमै टेन्डर प्रक्रिया नहुनुजस्ता कारणले केही मन्त्रालयको खर्च क्षमतामा कमजोरी देखिएको विश्लेषकहरूको भनाइ छ।

प्रकाशित मिति: २०८२ असार २६, बिहीबार ०९:०१
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !