देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प, बिरामी समस्यामा

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प, बिरामी समस्यामा
मधेशपत्र मधेशपत्र २०८२ असार २३, सोमबार १७:४६
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प, बिरामी समस्यामा

काठमाडौं : उपभोक्ता अदालतको फैसलाविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प भएको छ ।

उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै सोमबार देशका निजी तथा सरकारी अस्पतालमा चिकित्सकले इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेका हुन् ।

ADVERTISEMENT

आकस्मिक बाहेकका सेवा बन्द भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरू फर्कन बाध्य भएका छन् ।

चिकित्सकीय अभ्यास सम्बन्धी मुद्दामा उपभोक्ता अदालतले गरेको फैसलाले मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको उनीहरूको भनाइ छ । विभिन्न अस्पतालविरुद्ध परेको मुद्दामा उपभोक्ता अदालतले अस्पताल र उपचारमा संलग्न चिकित्सकलाई क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।

उक्त आदेशको विरोध गरेको भन्दै संघका महासचिवलाई समेत अवहेलना गरेको मुद्दामा कारण देखाऊ भएको थियो । त्यसपछि संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।

चिकित्सकको आन्दोलनका कारण आकस्मिक बाहेकका सबै सेवा बन्द भएको वीर अस्पतालका उपसचिव सिताराम खड्काले जानकारी दिए ।

आन्दोलनका कार्यक्रम अन्तर्गत मङ्गलवार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमा नै बुझाउने संघले जनाएको छ ।

आन्दोलनमा एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज, अफिन, एपोन, केमसन, नेपाल डेन्टल एसोसिएसन, नर्सिङ एसोसिएसन, फिजियोथेरापी एसोसिएसन, भेटेरिनरी एसोसिएसनलगाएत समेत ऐक्यबद्धता जनाएका छन् ।

प्रकाशित मिति: २०८२ असार २३, सोमबार १७:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !