राजीनामा दिने तयारीमा मन्त्री चौधरी, नागरिक उन्मुक्ति पार्टीको प्रतिपक्ष बस्ने घोषणा

राजीनामा दिने तयारीमा मन्त्री चौधरी, नागरिक उन्मुक्ति पार्टीको प्रतिपक्ष बस्ने घोषणा
मधेशपत्र मधेशपत्र २०८२ असार २०, शुक्रबार १५:३०
राजीनामा दिने तयारीमा मन्त्री चौधरी, नागरिक उन्मुक्ति पार्टीको प्रतिपक्ष बस्ने घोषणा

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा दिने भएका छन्। केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सङ्घीय सरकारबाट बाहिरिने निर्णयसँगै चौधरीले राजीनामा दिने तयारी गरेका हुन्।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि चौधरीको राजीनामा सार्वजनिक गरिने जानकारी दिइन्। ‘मन्त्रीले राजीनामा दिनुहुन्छ, हामी संसद्‌मा प्रतिपक्षमा बस्छौँ,’ उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू अहिले विदेशमा हुनुहुन्छ। उहाँ फर्किएपछि राजीनामा बुझाइन्छ।’

ADVERTISEMENT

नाउपाका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पदमुक्त गरेपछि पार्टी आक्रोशित भएको छ। त्यसकै प्रतिक्रियास्वरूप नाउपाले प्रदेश सरकारसँगै सङ्घीय सरकारबाट समेत समर्थन फिर्ता लिने निर्णय गरेको हो।

‘अब सङ्घ र प्रदेश दुवै ठाउँमा हामी प्रतिपक्षमा बस्छौँ। संरक्षकज्यूसँग पनि छलफल भइसकेको छ,’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘२३ गतेको संसद्‌ बैठकबाट हामी प्रतिपक्षमा बस्नेछौँ।’

नागरिक उन्मुक्तिका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीले सामाजिक सञ्जालमार्फत प्रतिपक्ष बस्ने निर्णयको संकेत गरेका छन्। उनले लेखेका छन्, ‘अब हामी पनि प्रतिपक्षमा बस्छौँ। जेलबाट हुण्डी खाने सर्वहाराहरू सामाजिक सञ्जालमा कराउँदै छन्।’

प्रकाशित मिति: २०८२ असार २०, शुक्रबार १५:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !