जनकपुरधामको मणिमण्डप सौन्दर्यीकरण अन्तिम चरणमा, वैवाहिक गन्तव्यका रूपमा विकास हुँदै

जनकपुरधामको मणिमण्डप सौन्दर्यीकरण अन्तिम चरणमा, वैवाहिक गन्तव्यका रूपमा विकास हुँदै
मधेशपत्र मधेशपत्र २०८२ असार २०, शुक्रबार १२:३७
जनकपुरधामको मणिमण्डप सौन्दर्यीकरण अन्तिम चरणमा, वैवाहिक गन्तव्यका रूपमा विकास हुँदै

जनकपुरधाम : जनकपुरधामलाई ऐतिहासिक र धार्मिक वैवाहिक गन्तव्यस्थलको रूपमा विकास गर्ने उद्देश्यले थालिएको मणिमण्डप क्षेत्रको सौन्दर्यीकरण कार्य अन्तिम चरणमा पुगेको छ।

सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरधामका प्रमुख विनोद यादवका अनुसार करिब चार बिघा क्षेत्रफलमा फैलिएको मणिमण्डप क्षेत्रको ९५ प्रतिशतभन्दा बढी काम पूरा भइसकेको छ।

ADVERTISEMENT

उनले जानकारी दिएअनुसार करिब १८ करोड ९१ लाख रुपैयाँ लागतमा जनकपुरधामको विभिन्न पाँच स्थानमा पूर्वाधार निर्माण कार्य भइरहेको छ। तीमध्ये सबैभन्दा ठूलो बजेट मणिमण्डप क्षेत्रको सौन्दर्यीकरणमा खर्च गरिएको हो। निर्माण सम्पन्न भएपछि यो संरचना जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिने योजना छ।

जनकपुरधाम–१३ का वडाध्यक्ष जितबहादुर राउतका अनुसार ऐतिहासिक र धार्मिक महत्त्व बोकेको मणिमण्डपलाई हिन्दू धर्मावलम्बीका लागि विश्वस्तरीय वैवाहिक गन्तव्य बनाउने उद्देश्यले सुविधा सम्पन्न संरचना निर्माण गरिएको हो।

“प्यालेस शैलीको प्रमुख भवनमा ७० जना अट्ने विवाह हल र २१ वटा कोठाहरू छन्। साथै, दुईवटा २४ कोठे धर्मशाला, विशेष विवाहमण्डप र दुईवटा पवेलियन पनि निर्माण भइसकेका छन्,” उनले जानकारी दिए।

आयोजना आर्थिक वर्ष २०७४/७५ मा सुरु गरिएको हो। निर्माण कम्पनी रविना कन्स्ट्रक्सनका इञ्जिनियर निर्मल कुमार यादवका अनुसार हाल अन्तिम चरणका काम तीव्र रूपमा अघि बढाइँदैछ, र यही असार महिनाभित्र सबै काम सम्पन्न गरिने लक्ष्य छ।

जनकपुरधामको धार्मिक पर्यटन प्रवर्द्धनसँगै वैवाहिक संस्कृतिलाई समेट्ने यो परियोजना क्षेत्रीय आर्थिक विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८२ असार २०, शुक्रबार १२:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !