पत्रकार मनोज बनैतामाथि अपशब्द बोलेको आरोपमा एमाले नेताविरुद्ध कारबाहीको माग

पत्रकार मनोज बनैतामाथि अपशब्द बोलेको आरोपमा एमाले नेताविरुद्ध कारबाहीको माग
सुरेश ठाकुर सुरेश ठाकुर २०८२ असार १८, बुधबार २१:२८
पत्रकार मनोज बनैतामाथि अपशब्द बोलेको आरोपमा एमाले नेताविरुद्ध कारबाहीको माग

जनकपुरधाम : नेपाल पत्रकार महासंघ, सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवमाथि अपशब्द प्रयोग गरेको आरोपमा नेकपा एमाले लहान नगर अध्यक्ष राजकुमार साहविरुद्ध सञ्चार क्षेत्रका विभिन्न संगठनहरूले कडा आपत्ति जनाउँदै कारबाहीको माग गरेका छन्।

सिरहा लहानका उपमेयरको भिडियो सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि नगर अध्यक्ष साहले पत्रकार यादवलाई लक्षित गर्दै मंगलबार अपमानजनक टिप्पणी गरेका थिए। साहको अभिव्यक्तिप्रति चौतर्फी विरोध सुरु भएको छ।

ADVERTISEMENT

नेपाल पत्रकार महासंघ मधेस प्रदेशले बुधबार विज्ञप्ति जारी गर्दै साहको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका महासचिव शैलेन्द्र क्रान्तिद्वारा जारी विज्ञप्तिमा साहद्वारा प्रयोग गरिएका ‘भ्रमपूर्ण, अश्लील र आपत्तिजनक’ शब्दावलीको निन्दा गर्दै सो प्रकरणको छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ।

यस्तै, महासंघको सिरहा शाखाले पनि छुट्टै विज्ञप्ति जारी गर्दै शाखा अध्यक्ष यादवमाथि गरिएको गालीगलौज र गैरजिम्मेवार अभिव्यक्तिको विरोध जनाएको छ। शाखा सचिव मुकेशकुमार यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “यदि कुनै सामग्री सत्यतथ्यमा आधारित छ भने त्यसको प्रसारण गर्नु पत्रकारको अधिकार मात्र होइन, कर्तव्य पनि हो। त्यसकै प्रतिक्रिया स्वरूप सार्वजनिक रूपमै गरिएको गालीगलौज सम्पूर्ण पत्रकारिता क्षेत्रको अपमान हो।”

घटनाप्रति प्रेस सेन्टर सिरहा र प्रेस युनियन सिरहाले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै गहिरो चिन्ता व्यक्त गरेका छन्। दुवै संस्थाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता माथिको यस्तो व्यवहारलाई निन्दनीय भन्दै तत्काल सम्बन्धित निकायबाट कारबाहीको माग गरेका छन्।

 

प्रकाशित मिति: २०८२ असार १८, बुधबार २१:२८
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !