रौतहटमा लागूऔषध मुद्दामा पत्रकारसहित पाँचजनालाई कैद र जरिवाना

रौतहटमा लागूऔषध मुद्दामा पत्रकारसहित पाँचजनालाई कैद र जरिवाना
मधेशपत्र मधेशपत्र २०८२ असार १६, सोमबार १६:४५
रौतहटमा लागूऔषध मुद्दामा पत्रकारसहित पाँचजनालाई कैद र जरिवाना

रौतहट : रौतहट जिल्ला अदालतले लागू औषध मुद्दामा संलग्न ठहर गर्दै नेपाल पत्रकार महासंघ रौतहटका कोषाध्यक्ष संजय सहनीसहित पाँच जनालाई कैद र जरिवाना गर्ने फैसला सुनाएको छ।

जिल्ला अदालत गौरका न्यायाधीश दुर्गा प्रसाद भट्टराईको इजलासले जनकपुरधामबाट संचालित अनलाइन पत्रीका न्यूजब्यूरो डट कममा कार्यरतसमेत रहेका पत्रकार सहनीलाई लागू औषध कारोबार तथा आपराधिक षड्यन्त्र मुद्दामा तीन वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको हो। गौर नगरपालिका–४, टिकुलियाका सहनी पत्रकार महासंघ रौतहट शाखाका कोषाध्यक्ष समेत हुन्।

ADVERTISEMENT

सोही मुद्दामा अर्का पत्रकार धीरज यादवलाई पनि तीन वर्ष कैद र १ लाख ५० हजार जरिवाना गरिएको छ। यादव रौतहटको माधवनारायण नगरपालिका–१, दीपहीका बासिन्दा हुन्।

सर्लाहीको रामनगर गाउँपालिका निवासी जितेश यादव, नेपाल प्रहरीका जवान मनोज साह र उदय यादवलाई भने दुई/दुई वर्ष कैद र १/१ लाख रुपैयाँ जरिवाना तोकिएको छ।

पत्रकार मोहमद मोजीबुलाहले केही वर्ष अघि जिल्ला अदालतमा दायर गरेको मुद्दामा संलग्नता पुष्टि भएपछि अदालतले दोषी ठहर गर्दै फैसला सुनाएको हो। अभियोजन पक्षका अनुसार पत्रकार संजय सहनीले व्यक्तिगत रिसिबीका कारण पत्रकार मोजीबुलालाई लागू औषध मुद्दामा फसाउने षड्यन्त्र गरेका थिए।

सहनीको योजनाअनुसार मोजीबुलालाई गौरस्थित एक होटलमा बोलाई खाजा खाने बहानामा मोटरसाइकलमा लागू औषध (नाइट्रोभेट ट्याब्लेट) राखिएको थियो। तर घटनास्थल आसपासको सीसीटीभी फुटेज सार्वजनिक भएपछि मोजीबुला निर्दोष साबित भएका थिए।

सीसीटीभी प्रमाणका आधारमा पाँचै अभियुक्त दोषी प्रमाणित भएका हुन्। घटनामा रौतहटका तत्कालीन प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहको समेत संलग्नता रहेको तथ्यसमेत सार्वजनिक भएको थियो, यद्यपि शाहमाथि अदालती कारबाहीको विवरण भने हालसम्म खुलाइएको छैन।

पछिल्लो समय पत्रकारिता क्षेत्रकै छवि बदनाम गर्ने खालको यो मुद्दामा फैसला आउनुले राज्यद्वारा सञ्चालित निकायहरूमा विधिको शासनप्रति जनविश्वास बलियो हुने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०८२ असार १६, सोमबार १६:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !