कमलाको विद्यालयमा ५ बुँदे कडा नियम लागू, विद्यार्थीलाई कपालदेखि मोबाइलसम्मको निगरानी

कमलाको विद्यालयमा ५ बुँदे कडा नियम लागू, विद्यार्थीलाई कपालदेखि मोबाइलसम्मको निगरानी
मधेशपत्र मधेशपत्र २०८२ असार १६, सोमबार १४:२१
कमलाको विद्यालयमा ५ बुँदे कडा नियम लागू, विद्यार्थीलाई कपालदेखि मोबाइलसम्मको निगरानी

जनकपुरधाम : धनुषाको कमला नगरपालिका–८ स्थित श्री माध्यमिक विद्यालय, टेढामोड़ले विद्यालयमा अध्ययनरत छात्रछात्राहरूका लागि ५ बुँदे नियम लागू गरेको छ।

विद्यालय प्रशासनले विद्यार्थीको अनुशासन र पठन–पाठनमा सुधार ल्याउने उद्देश्यले ती नियमहरू कडाइका साथ पालना गराउने जनाएको छ।

ADVERTISEMENT

विद्यालयका प्रधानाध्यापक सरोज कुमार शर्माले सबै विद्यार्थीहरूलाई समयमै विद्यालय आउन र निर्धारित समयमा नै फर्कन अनिवार्य गरिएको जानकारी दिए। साथै विद्यार्थीहरूलाई नङ काटेर आउन, कपाल मिलाएर आउन, विद्यालय पोशाकमा मात्र उपस्थित हुन र अनुशासित देखिने गरि विद्यालय वातावरणमा बस्न निर्देशन दिइएको छ।

शर्माका अनुसार विद्यार्थीहरूले विद्यालय हाताभित्र मोबाइल फोन लिएर आउन पाउने छैनन्। यस्तै, कानमा बाला, कुण्डल, औंठी जस्ता गहना लगाएर विद्यालय आउनसमेत निषेध गरिएको छ।

“विद्यार्थीको अध्ययनमा ध्यान जानु पर्ने हो। अनावश्यक तडकभडकले ध्यान विचलित बनाउँछ,” प्रधानाध्यापक शर्माले भने, “त्यसैले यस्ता नियम लागू गर्नु परेको हो।”

विद्यालयले लागू गरेको नयाँ नियमको सूचना कक्षाकोठा र सूचना पाटीमार्फत सबै कक्षामा टाँस गरिएको छ। नियम उल्लंघन गर्ने विद्यार्थीमाथि आवश्यक अनुशासनात्मक कारबाही गरिने विद्यालय प्रशासनले स्पष्ट पारेको छ।

प्रकाशित मिति: २०८२ असार १६, सोमबार १४:२१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !