डा.सीके राउतले भने : ‘बजेटमा असन्तुष्टि छ, तर तत्कालै सरकार छाड्दैनौं’

डा.सीके राउतले भने : ‘बजेटमा असन्तुष्टि छ, तर तत्कालै सरकार छाड्दैनौं’
मधेशपत्र मधेशपत्र २०८२ असार १४, शनिबार २०:०६
डा.सीके राउतले भने : ‘बजेटमा असन्तुष्टि छ, तर तत्कालै सरकार छाड्दैनौं’

सप्तरी : जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बजेटप्रति असन्तुष्टि रहे पनि तत्कालै मधेश प्रदेश सरकार नछाड्ने स्पष्ट पारेका छन्।

शनिबार सप्तरीको बलान बिहुल गाउँपालिकामा कृषि विद्युतीकरण योजना कार्यान्वयनको लागि पुगेका राउतले पत्रकारहरूसँग कुराकानी गर्दै, पार्टीले कृषकहितमा दीर्घकालीन योजना ल्याएको तर ती योजनाहरू बजेटबाट हटाइएकाले असन्तुष्टि व्यक्त गर्नु परेको बताए।

ADVERTISEMENT

‘जनमत पार्टी जनताको पक्षमा उभिने पार्टी हो। कृषकसहित जनताको भलाइ हुने दीर्घकालीन योजना ल्याएका थियौं,’ उनले भने, ‘तर तीमध्ये धेरैजसो योजना बजेटबाट हटाइए, त्यसैले हामी असन्तुष्ट भएका हौं। तर अहिल्यै सरकार छाड्ने निर्णय गरेका छैनौं।’

संघीय लोकतान्त्रिक मोर्चाबारे बोल्दै अध्यक्ष राउतले उक्त गठबन्धन संविधान संशोधनको एजेन्डामा केन्द्रित ‘लुज एलायन्स’ मात्रै भएको स्पष्ट पारे। ‘कोही दल सरकारमा जाने कि नजाने, समर्थन दिने कि फिर्ता लिने भन्ने विषय मोर्चामा औपचारिक रूपमा छलफल भएको छैन,’ उनले भने, ‘मोर्चाको मूल उद्देश्य संविधान संशोधनकै लागि दबाब सिर्जना गर्नु हो।’

उनका अनुसार संविधान संशोधनबारे मोर्चाभित्र लगातार छलफल भइरहेका छन्। ‘यसै विषयमा भोलि पनि मोर्चाको बैठक बस्दैछ,’ राउतले भने, ‘थप छलफलपछि साझा रणनीति तय हुन्छ।’

राउत शनिबार जनमत पार्टीको पहलमा सञ्चालन हुने कृषि विद्युतीकरण कार्यक्रमको अवलोकनका लागि बलान बिहुल पुगेका थिए।

प्रकाशित मिति: २०८२ असार १४, शनिबार २०:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !