मधेशलाई ‘डम्पिङ साइट’ बनाइदैँ : स्वास्थ्यमन्त्रीको बजेटमा चलखेल

मधेशलाई ‘डम्पिङ साइट’ बनाइदैँ : स्वास्थ्यमन्त्रीको बजेटमा चलखेल
जयनाथ पण्डित जयनाथ पण्डित २०८२ असार १४, शनिबार ०९:०६
मधेशलाई ‘डम्पिङ साइट’ बनाइदैँ : स्वास्थ्यमन्त्रीको बजेटमा चलखेल

काठमाडौं : मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अहिले फेरि विवादको केन्द्रमा आएको छ। प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा स्वास्थ्य उपकरण र औषधी खरिदका नाममा व्यापक अनियमितता हुने आशंका जनाइएको छ। जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहले स्वास्थ्य मन्त्रीमाथि गम्भीर आरोप लगाउँदै मधेशलाई “स्वास्थ्य उपकरण र औषधीको डम्पिङ साइट” बनाउने चलखेल भैरहेको दाबी गरेका छन्।

अनावश्यक उपकरण खरिद र अस्पष्ट भाषा

ADVERTISEMENT

सचिव साहका अनुसार प्रदेश सरकारले अहिलेसम्म कुन-कुन स्वास्थ्य उपकरण खरिद गर्यो र तीमध्ये कुन प्रयोगमा छन् भन्ने प्रश्न अझै अनुत्तरित छ। “कसको माग अनुसार खरिद भयो? आवश्यकता कति थियो?” उनले प्रश्न गर्दै भने, “सूचनाको हक प्रयोग गरी नागरिकले यस्ता कुराहरू खोज्न थाल्दा डरलाग्दो सत्य बाहिर आउँछ।”

उनले यसपटकको रातो किताब (बजेट दस्तावेज) मा स्वास्थ्य उपकरण खरिदलाई स्पष्ट रूपमा उल्लेख नगरी, ‘सञ्चालन’, ‘प्रदान’, ‘व्यवस्थापन’ जस्ता घुमाउरा भाषामा उल्लेख गरिएको छ। यसले गर्दा सार्वजनिक निगरानी कठिन भएको बताइएको छ।

आपूर्ति केन्द्र पन्छाइएपछि ‘सीधा अस्पताल’ खेल

पहिले स्वास्थ्य आपूर्ति केन्द्रलाई खरिदको मुख्य निकाय बनाइन्थ्यो। तर अहिले उक्त केन्द्रलाई पन्छाएर सिधा अस्पतालको नाममा बजेट विनियोजन गरिएको छ। “कमिसनको खेल भित्रभित्रै चलोस, मन्त्रीको हात चोखो देखियोस, र छानबिन भए अस्पतालका प्रमुखलाई जेल हाल्न सकियोस भन्ने योजनासहित यस्तो गरिएको हो,” साहको आरोप छ।

उनका अनुसार, कुल उपकरण तथा औषधी खरिद बजेटको ३० देखि ५५ प्रतिशतसम्म कमिसन बाँडफाँडमा जाने चलन छ।

मन्त्रीको गाडीमा करोडौं, जनताको उपचार बेहाल

स्वास्थ्य मन्त्रालयका मन्त्रीका लागि १ करोड २६ लाखको गाडी खरिद गर्ने योजना पनि बजेटमा समेटिएको छ। साहले व्यंग्य गर्दै भने, “स्वास्थ्यका हिसाबले ‘बिमारु प्रदेश’मा मन्त्री ज्यू सवारीसाधनमा चाहिँ ‘सुपरफिट’ देखिन चाहनुहुन्छ।”

एक अर्बभन्दा बढीको बजेट विनियोजन गर्दा, अस्पतालमा अत्यावश्यक उपकरण नभएको, औषधी अभाव देखिएको, जनशक्ति नपुगिरहेको यथार्थ अझै परिवर्तन भएको छैन।

मन्त्रालय नाम परिवर्तनको सुझाव

बीपी साहले व्यंग्यपूर्वक स्वास्थ्य मन्त्रालयको नाम परिवर्तन गरेर “स्वास्थ्य तथा जनसंख्या एवं भौतिक पूर्वाधार मन्त्रालय” राख्न सुझाव दिएका छन्। कारण? मन्त्रीले स्वास्थ्यभन्दा बढी गिटी, बालुवा, रड र इँटा प्रयोग हुने योजनाहरू अगाडि सारेका छन्। “कमिसन आउन सक्ने ठाउँ खोज्दै हुनुहुन्छ मन्त्रीज्यू,” उनले तिखो टिप्पणी गरे।

‘स्वास्थ्य काण्ड’को संकेत

साहले नेकपा एमाले नेतृत्वको मन्त्रालयले संघीयतालाई बदनाम गर्न स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार बढाउने हर्कत गरिरहेको आरोप लगाए। “संघीयता खारेज गराउन मन्त्रीले यो रणनीति बनाएको हो भने भन्नु केही छैन,” उनले भने। साथै, उनले एमाले नेतृत्वलाई नै स्वास्थ्य मन्त्रालयमा भइरहेको गतिविधिको छानबिन गर्न पनि चुनौती दिएका छन्।

‘साइकल काण्ड’ जस्तै बन्ने चेतावनी

नेता साहले स्वास्थ्य माफियाहरुलाई चेतावनी दिँदै भने, “रातो किताबमा बजेट राखिएको भन्दै अहिले नै कमिसन बुझाइरहनु भएको छ भने बिचार गर्नुहोस्। सामान खरिद होला कि नहोला, तर तपाईंको कमिसनको पैसा डुब्ने सम्भावना छ।”

उनले यसपटकको स्वास्थ्य बजेटलाई नयाँ ‘साइकल काण्ड’ बन्ने खतरा रहेको उल्लेख गर्दै, सर्तक रहन आग्रह गरेका छन्।

प्रकाशित मिति: २०८२ असार १४, शनिबार ०९:०६
जयनाथ पण्डित

जयनाथ पण्डित

लेखक


तपाईको प्रतिक्रिया !