मधेशमा बजेट संशोधन माग गर्दै जनमतले गर्‍यो तीन निर्णय

मधेशमा बजेट संशोधन माग गर्दै जनमतले गर्‍यो तीन निर्णय
जयनाथ पण्डित जयनाथ पण्डित २०८२ असार १२, बिहीबार १८:२१
मधेशमा बजेट संशोधन माग गर्दै जनमतले गर्‍यो तीन निर्णय

काठमाडौं : मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति सरकारमा सहभागी दल जनमत पार्टीले असन्तुष्टि जनाएको छ। बिहीबार बसेको मधेश प्रदेश जनमत पार्टी संसदीय दलको बैठकले बजेटमा पार्टीका सिफारिसहरू कटौती गरिएको भन्दै तीन प्रमुख निर्णय गरेको छ।

संसदीय दलका नेता महेशप्रसाद यादवका अनुसार, सरकारले सार्वजनिक गरेको वार्षिक कार्यक्रम पुस्तिका (रेडबुक)मा जनमत पार्टीका मन्त्री तथा नेताहरूले प्रस्ताव गरेका योजनाहरू समावेश नगरिएकोप्रति बैठकले गम्भीर आपत्ति जनाएको छ। यस विषयमा पार्टी केन्द्रीय कार्यालयलाई जानकारी गराउने निर्णय पनि बैठकबाट गरिएको यादवले बताए।

ADVERTISEMENT

बैठकले बजेटमा व्यापक फेरबदल भएको आरोप लगाउँदै त्यसको जिम्मेवारी सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेलाई दिएको छ। “हाम्रो सिफारिसका योजना हटाइएका छन्, बजेटको प्राथमिकता हाम्रो सरोकार विपरीत छ,” यादवले भने।

त्यस्तै, बैठकले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको विषयमा समेत आपत्ति जनाउँदै प्रदेशसभा सचिवालयलाई औपचारिक पत्र पठाउने निर्णय गरेको छ। साथसाथै, बजेट संशोधनको माग समेत बैठकबाट गरिएको छ।

मधेश प्रदेश सरकारमा जनमत पार्टीबाट सतीशकुमार सिंह सरकारको नेतृत्वमा रहेका छन् भने अर्थमन्त्री नेपाली कांग्रेसका सुनीलकुमार यादव हुन्। जनमतले सरकारमा सहभागी हुँदा उठाएका प्राथमिकताहरूलाई बेवास्ता गर्दै बजेट ल्याइएको भन्दै असन्तोष प्रकट गरेको हो।

प्रकाशित मिति: २०८२ असार १२, बिहीबार १८:२१
जयनाथ पण्डित

जयनाथ पण्डित

लेखक


तपाईको प्रतिक्रिया !