शिक्षकको सोच बदलिए मात्र गुणस्तरीय शिक्षा सम्भव : मुख्यमन्त्री सिंह

शिक्षकको सोच बदलिए मात्र गुणस्तरीय शिक्षा सम्भव : मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८२ असार १०, मंगलवार २३:३०
शिक्षकको सोच बदलिए मात्र गुणस्तरीय शिक्षा सम्भव : मुख्यमन्त्री सिंह

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशको सामुदायिक विद्यालयहरूको अवस्था अत्यन्तै कमजोर रहेको भन्दै शिक्षामा देखिएको गिरावटप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

जनकपुरधाममा शुरु भएको पहिलो राष्ट्रिय शिक्षा सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालयहरूको करिब ९० प्रतिशत शैक्षिक गुणस्तर कमजोर रहेको र यसमा सुधारका लागि शिक्षकमै सोचको परिवर्तन आवश्यक रहेको बताए ।

ADVERTISEMENT

“शिक्षक पेशाप्रति इमानदार छैनन्, जसका कारण अवस्था झनै ओरालो लागिरहेको छ,” मुख्यमन्त्री सिंहले भने, “शिक्षकले विद्यार्थीलाई आफ्नै सन्तान ठानेर पढाउन थाले मात्र गुणस्तरमा सुधार आउन सक्छ।”

मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा आयोजित दुई दिने सम्मेलनमा बालकक्षादेखि माध्यमिक तहसम्मको शैक्षिक अवस्था, चुनौती र सुधारका उपायमाथि कार्यपत्र प्रस्तुत गरिनुका साथै समसामयिक विषयमा छलफल भइरहेको छ ।

सम्मेलनमा विभिन्न मन्त्रालयका मन्त्री, सांसद, शिक्षा विज्ञ, नीति निर्माताहरू, शैक्षिक अगुवा तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति छ ।

सम्मेलनमा मन्तव्य दिँदै भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले शिक्षक र अभिभावक दुवै जिम्मेवार नभएसम्म सुधार सम्भव नरहने बताए ।

त्यसैगरी, श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले शिक्षाको सुधारका लागि तीनै तहको सरकारबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।

शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मातिवारीले सम्मेलनको अध्यक्षता गर्दै सुधारको अभियान आधारभूत तहमै थालिनुपर्नेमा जोड दिइन् । उनले भनिन्, “आधारभूत तह सुध्रिएपछि माथिल्लो तहमा सुधार स्वाभाविक हुन्छ।”

सम्मेलनले मधेश प्रदेशको शिक्षामा देखिएका विकृति, विसंगति अन्त्य गर्दै दीर्घकालीन सुधार रणनीति तय गर्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: २०८२ असार १०, मंगलवार २३:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !