रौतहटमा तीन दर्जनभन्दा बढी विभिन्न दलका नेता–कार्यकर्ता जनमतमा प्रवेश

रौतहटमा तीन दर्जनभन्दा बढी विभिन्न दलका नेता–कार्यकर्ता जनमतमा प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ असार ८, आईतवार १३:५०
रौतहटमा तीन दर्जनभन्दा बढी विभिन्न दलका नेता–कार्यकर्ता जनमतमा प्रवेश

रौतहट : रौतहटको कटहरिया नगरपालिका–५ स्थित कटहरिया बजारको विवाहमण्डपमा आइतबार सम्पन्न जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम विशेष बनेको छ। कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा एस परित्याग गर्दै तीन दर्जनभन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन्।

कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले नवप्रवेशीहरूलाई पार्टीको सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए। उनले नवप्रवेशीहरूप्रति विश्वास व्यक्त गर्दै पार्टीको संगठनात्मक विस्तारमा उनीहरूको भूमिका महत्वपूर्ण हुने बताए।

ADVERTISEMENT

पार्टी प्रवेश गर्नेहरूमा नेकपा एमालेकी महिला नेतृ नजमा खातुनको नेतृत्वमा एक दर्जन महिलाहरू छन्। त्यस्तै, नेपाली कांग्रेस परित्याग गर्दै अनिता देवी यादवको नेतृत्वमा एक दर्जनभन्दा बढी नेताकार्यकर्ता जनमतमा प्रवेश गरेका छन्। नेकपा समाजवादी (एस) पार्टीका धिरेन्द्र कुमार गुप्ताको नेतृत्वमा पनि एक दर्जनभन्दा बढी कार्यकर्ताहरू जनमतमा सहभागी भएका छन्।

जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य डा. सुबन्त कुशवाहाले पार्टी प्रवेशलाई ऐतिहासिक रूपमा लिँदै रौतहटमा जनमत पार्टी अझ सशक्त बन्दै गएको बताए। उनका अनुसार जनमतप्रतिको बढ्दो आकर्षण र अन्य पार्टीप्रति बढ्दो असन्तुष्टि यस प्रवेशमार्फत देखिएको छ।

“पार्टीको नीति, दृष्टिकोण र जनतामाझ बढ्दो प्रभावका कारण हामीप्रति जनताको विश्वास बढ्दै गएको छ,” कुशवाहाले भने, “यो क्रमले जनमतलाई आगामी निर्वाचनमा निर्णायक भूमिकामा पुर्‍याउनेछ।”

राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रममा जनमत पार्टीका विभिन्न तहका नेताहरू, कार्यकर्ताहरू र स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमले संगठन विस्तार, स्थानीय तहमा सशक्त उपस्थिति र आगामी रणनीतिबारे समेत छलफल केन्द्रित भएको थियो।

 

प्रकाशित मिति: २०८२ असार ८, आईतवार १३:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !