सडक सुरक्षा सरकारको पहिलो प्राथमिकता : मन्त्री राय

सडक सुरक्षा सरकारको पहिलो प्राथमिकता : मन्त्री राय
मधेशपत्र मधेशपत्र २०८२ असार ८, आईतवार १०:२६
सडक सुरक्षा सरकारको पहिलो प्राथमिकता : मन्त्री राय

जनकपुरधाम : मधेश प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले सडक सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पारेका छन्।

‘सुरक्षित सडक, सुरक्षित मधेश प्रदेश’ भन्ने मूल नाराका साथ जनकपुरधाममा आयोजित सडक सुरक्षा जनचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रायले दुर्घटनालाई नियतिको रूपमा होइन, नीतिगत रूपमै न्यूनीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

ADVERTISEMENT

कार्यक्रमको आयोजना यातायात व्यवस्था कार्यालय जनकपुरधामले गरेको हो।

मन्त्री रायले भने, “सडक दुर्घटना केवल ट्राफिकको विषय होइन, यो हाम्रो जीवन र अस्तित्वसँग जोडिएको सवाल हो। प्रदेश सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको छ। नीति, जनचेतना र प्रविधिको समन्वयमार्फत मात्र यसलाई नियन्त्रण गर्न सकिन्छ।”

उनले विद्यालय तहबाटै ट्राफिक अनुशासनको शिक्षा आवश्यक रहेको बताउँदै चालकहरूलाई नियमित तालिम, सवारी साधनको प्राविधिक परीक्षण र ट्राफिक नियम उल्लंघनमा कडाइ जरुरी रहेको उल्लेख गरे।

कार्यक्रममा मन्त्री रायले सडक सुरक्षा सुदृढीकरणका लागि प्रदेश सरकारले छुट्टै कार्यक्रम ल्याउने तयारीमा रहेको जानकारी पनि दिए। “स्थानीय तहसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापनमा सुधार ल्याउनुपर्छ,” मन्त्री रायको भनाइ थियो।

कार्यक्रममा यातायात व्यवस्था कार्यालय जनकपुरधामका प्रमुख धनञ्जय कुमार सिंहको अध्यक्षता थियो। कार्यक्रममा श्रम तथा यातायात मन्त्रालयका सचिव युवराज अधिकारी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, ज्ञानकुप संस्कृति विद्यालयका प्रधानाध्यापक सञ्जय झा, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिसहित विभिन्न निकायका सहभागी थिए।

वक्ताहरूले ट्राफिक अनुशासन, जनसहभागिता र दुर्घटना न्यूनीकरणका उपायबारे आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए।

प्रकाशित मिति: २०८२ असार ८, आईतवार १०:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !