मधेशका छ जिल्लामा जनमत पार्टीको प्रशिक्षण तथा समन्वय बैठक सम्पन्न

मधेशका छ जिल्लामा जनमत पार्टीको प्रशिक्षण तथा समन्वय बैठक सम्पन्न
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ असार ७, शनिबार १७:१६
मधेशका छ जिल्लामा जनमत पार्टीको प्रशिक्षण तथा समन्वय बैठक सम्पन्न

काठमाडौं : जनमत पार्टीले मधेश प्रदेशका आठ जिल्लामध्ये छ जिल्लामा राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। सप्तरीबाट सुरु भएको कार्यक्रम क्रमशः सिरहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै शनिबार रौतहटमा पनि सम्पन्न हुनेछ ।

पार्टीका अनुसार हालसम्म सम्पन्न कार्यक्रमहरूमार्फत २४ वटा संघीय निर्वाचन क्षेत्र समेटिएका छन्। पार्टीको सांगठनिक सुदृढीकरण अभियानअन्तर्गत आयोजित प्रशिक्षण तथा समन्वय बैठकमा स्थानीय, जिल्ला र केन्द्रस्तरीय नेताकार्यकर्ताको उल्लेखनीय सहभागिता रह्यो।

ADVERTISEMENT

कार्यक्रमको नेतृत्व जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले गरेका थिए। उनले समसामयिक राजनीति, पार्टीको भावी योजना, सांगठनिक रणनीति र निर्वाचन तयारीका सन्दर्भमा प्रशिक्षण दिएका छन्। पार्टीको वैचारिक स्पष्टता, सांगठनिक अनुशासन र नेतृत्व विकासमा जोड दिँदै उनले प्रशिक्षण कार्यक्रमलाई संगठन विस्तारको महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरे।

“आजको राजनीति केवल नारामा सीमित छैन, यो अब व्यवस्थापन र नेतृत्व क्षमतामा निर्भर छ,” डा. राउतले भने, “स्थानीयदेखि केन्द्रसम्म सक्षम नेतृत्व विकास नगरेसम्म वैकल्पिक राजनीतिको यात्रालाई मजबुत बनाउन सकिँदैन।”

प्रशिक्षणका दौरान नेताकार्यकर्तालाई स्थानीय जनसमस्या बुझ्ने, जनतामाझ पार्टीको नीति प्रष्टसँग बुझाउने र संगठनात्मक संरचना निर्माणमा अग्रसर बन्ने मार्गदर्शन दिइएको थियो।

कार्यक्रमहरूमा सहभागी नेताकार्यकर्ताले प्रशिक्षणले आफूहरूलाई राजनीतिक रूपले परिपक्व बनाएको अनुभव सुनाए। उनीहरूले पार्टीले अघि सारेको विचार र रणनीतिलाई गाउँ–टोलसम्म लैजान प्रतिबद्धता व्यक्त गरे।

जनमत पार्टीले बाँकी दुई जिल्ला बारा र पर्सामा पनि यस्तै कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ। पार्टीले यी कार्यक्रमलाई आगामी निर्वाचनको पूर्वतयारीका रूपमा समेत लिएको जनाएको छ।

जनमत पार्टीको सांगठनिक अभियानले मधेश प्रदेशमा वैकल्पिक राजनीतिको खोजीमा रहेका जनता तथा युवालाई आकर्षित गर्न थालेको नेताहरूको भनाइ छ।

प्रकाशित मिति: २०८२ असार ७, शनिबार १७:१६
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !