मधेश सरकारले ल्यायो स्वयंसेवक शिक्षकदेखि स्मार्ट बोर्डसम्मको योजना

मधेश सरकारले ल्यायो स्वयंसेवक शिक्षकदेखि स्मार्ट बोर्डसम्मको योजना
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८२ असार २, सोमबार १७:४०
मधेश सरकारले ल्यायो स्वयंसेवक शिक्षकदेखि स्मार्ट बोर्डसम्मको योजना

जनकपुरधाम : मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि शिक्षा तथा संस्कृति क्षेत्रमा ३ अर्ब ५७ करोड ६६ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

आइतबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सुनिल कुमार यादवले शिक्षामा समावेशी र गुणस्तरीय पहुँच सुनिश्चित गर्न रणनीतिक योजना अघि सारे। उनले शिक्षा तथा संस्कृति मन्त्रालयका प्राथमिकताका कार्यक्रमहरू सार्वजनिक गर्दै विद्यालय, प्राविधिक शिक्षालयदेखि विश्वविद्यालयसम्मको सुधारमा केन्द्रित बजेट घोषणा गरे।

ADVERTISEMENT

अर्थमन्त्री यादवका अनुसार प्रदेशअन्तर्गत रहेका विद्यालयहरूको क्षमता अभिवृद्धि र जनशक्तिको अभाव टार्न स्वयंसेवक शिक्षक कार्यक्रम सञ्चालन गरिनेछ। “शिक्षण गुणस्तर सुधारका लागि मानव संसाधन टुटेको पाटो पूर्ति गर्न यो कार्यक्रम ल्याइएको हो,” उनले भने।

यसैक्रममा, सम्बन्धन प्राप्त सामुदायिक प्राविधिक विद्यालयहरूलाई सशर्त चालु अनुदान दिइनेछ। विज्ञान शिक्षामा सुधार ल्याउने उद्देश्यले विद्यालयहरूमा विज्ञान प्रयोगशाला स्थापना गरिने बताइएको छ। साथै, सूचना प्रविधिमैत्री सिकाइ प्रविधिको प्रवर्द्धन गर्न स्मार्ट बोर्ड र ई-लाइब्रेरी स्थापनाको लागि आवश्यक बजेट समेत छुट्याइएको छ।

प्रदेशका आठवटै जिल्लाका विद्यालयहरूमा भौतिक पूर्वाधार निर्माण तथा संरचनात्मक सुधारका लागि लगानी बढाइनेछ। विश्वविद्यालय तहमा समेत प्रशासनिक, भौतिक र व्यवस्थापकीय सुधारका लागि अनुदानमार्फत सहयोग पुर्‍याइने अर्थमन्त्री यादवको भनाइ छ।

“शिक्षा र प्रविधिको संयोजनमार्फत समावेशी, सक्षम र आधुनिक शिक्षा प्रणालीको जग बसाल्ने लक्ष्यका साथ बजेट ल्याइएको हो,” उनले भने।

बजेटमार्फत मधेश सरकारले शिक्षालाई नवप्रवर्तनशील बनाउँदै विद्यार्थीको सिकाइमा गुणात्मक परिवर्तन ल्याउने संकेत दिएको छ।

प्रकाशित मिति: २०८२ असार २, सोमबार १७:४०
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !