सरल र प्रभावकारी सेवा प्रवाहबाट मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल

सरल र प्रभावकारी सेवा प्रवाहबाट मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल
मधेशपत्र मधेशपत्र २०८२ असार १, आईतवार १४:२२
सरल र प्रभावकारी सेवा प्रवाहबाट मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको मन जित्नसक्ने सरल, सहज र प्रभावकारी सेवा प्रवाह गर्न सके मात्र लोकतन्त्र दरिलो हुने बताएका छन्।

आइतबार लोक सेवा आयोगको ७५औं वार्षिकोत्सव तथा हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रले आधुनिक विधि, प्रविधि र दक्ष जनशक्ति प्रयोग गरी जनअपेक्षाअनुसार सेवा दिनुपर्नेमा जोड दिए।

ADVERTISEMENT

‘अब सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छ,’ राष्ट्रपति पौडेलले भने, ‘जबसम्म नागरिकको हकका लागि सहज पहुँच दिइँदैन, तबसम्म लोकतन्त्र दरिलो हुन सक्दैन भन्ने वास्तविकता विर्सन हुँदैन।’

उनले लोक सेवा आयोगलाई योग्यतम कर्मचारी छनोट गर्ने संवैधानिक जिम्मेवारी प्राप्त संस्था भन्दै आयोगले “योग्यता, निष्पक्षता र स्वच्छता” को सिद्धान्तलाई पालन गर्दै सात दशकभन्दा बढी समयदेखि निरन्तर काम गर्नु प्रशंसनीय भएको बताए।

‘आयोगले वर्तमान पुस्ताप्रति न्याय र भविष्यका पुस्ताप्रति आशा र भरोसाको केन्द्रका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न चनाखो हुन जरुरी छ,’ उनले भने।

राष्ट्रपति पौडेलले स्वप्रेरित, नैतिकवान, अनुशासित र राष्ट्रप्रतिबद्ध कर्मचारीले मात्र मुलुकमा प्रभावकारी कार्यसम्पादन गर्न सक्ने बताए। उनले भने, ‘आयोग सरकारी सेवाका लागि कर्मचारी छनोटको जग हो, यसले योग्यताको सबै पक्ष समेट्ने परीक्षण विधि अवलम्बन गर्नुपर्छ।’

उनले समावेशी पदपूर्तिको व्यवस्थाबाट महिला, आदिवासी जनजाति, मधेसी, दलित, अपांगता भएका र पिछडिएको क्षेत्रका उम्मेदवार सिफारिस हुनु सकारात्मक पक्ष भएको उल्लेख गरे।

‘यसबाट नीति निर्माण तहमा सबै वर्गको प्रतिनिधित्व हुँदै गएको छ,’ उनले भने, ‘राष्ट्रिय एकतालाई मजबुत बनाउने काम पनि यसले गरेको छ।’

राष्ट्रपतिले आयोगले समयसापेक्ष सुधारमार्फत कर्मचारी छनोट, बढुवा र परामर्श प्रक्रियालाई अझ प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिए।

प्रकाशित मिति: २०८२ असार १, आईतवार १४:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !