थारु भाषा-संस्कृति संरक्षण प्रतिष्ठान स्थापना गरिने : डा.जयकान्त राउत

थारु भाषा-संस्कृति संरक्षण प्रतिष्ठान स्थापना गरिने : डा.जयकान्त राउत
मधेशपत्र मधेशपत्र २०८२ असार १, आईतवार १२:५६
थारु भाषा-संस्कृति संरक्षण प्रतिष्ठान स्थापना गरिने : डा.जयकान्त राउत

जनकपुरधाम : जनमत पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले थारु भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि सप्तरीमा ‘रामानन्द सिंह थारु भाषा संस्कृतिको विकास तथा संरक्षण प्रतिष्ठान’ स्थापना गरिने बताएका छन्।

धनुषा क्षेत्र नम्बर १ अन्तर्गत बिरेन्द्रबजारस्थित कविर कुटीमा आयोजित राष्ट्रिय समन्वय परिषद बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै डा. राउतले प्रदेश सरकारको पहलमा प्रतिष्ठान स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिए।

ADVERTISEMENT

“थारु समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण हाम्रो प्राथमिकता हो,” उनले भने, “प्रदेश सरकारमार्फत कानुनी तथा संस्थागत प्रक्रिया अगाडि बढाइएको छ।”

उनका अनुसार थारु समुदायको मौलिक ज्ञान प्रणाली, इतिहास र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतिष्ठान आवश्यक छ। “हामी पार्टी संगठन सुदृढीकरणसँगै जनजातीय तथा जातीय पहिचान जोगाउने अभियानमा प्रतिबद्ध छौं,” डा. राउतको भनाइ थियो।

उनले समाजको सांस्कृतिक विविधता सुरक्षित राख्न राज्य र राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्ने धारणा पनि राखे।

कार्यक्रममा विभिन्न जिल्लाबाट आएका जनमत पार्टीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकले संगठनात्मक सुदृढीकरण, कार्यकर्ता प्रशिक्षण तथा पार्टी नीतिहरूको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गरेको पार्टी स्रोतले जनाएको छ।

जनमत पार्टीले पछिल्लो समय मधेस क्षेत्रका विभिन्न जातीय, भाषिक र सांस्कृतिक समुदायका सवाललाई प्राथमिक एजेन्डाका रूपमा उठाउँदै आएको छ।

 

प्रकाशित मिति: २०८२ असार १, आईतवार १२:५६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !