जनमत सचिव यादवको अडान : किसानलाई देशको सर्वोच्च दर्जामा पुर्‍याउँछु

जनमत सचिव यादवको अडान : किसानलाई देशको सर्वोच्च दर्जामा पुर्‍याउँछु
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २४, शनिबार २२:१८
जनमत सचिव यादवको अडान : किसानलाई देशको सर्वोच्च दर्जामा पुर्‍याउँछु

रुपन्देही : जनमत पार्टीका राष्ट्रिय सचिव तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार भूपेन्द्र प्रसाद यादवले शनिबार रुपन्देही क्षेत्र नम्बर ४ अन्तर्गत मर्चवारका किसान र बुद्धिजीवीसँग भेटघाट गरेका छन्।

विगतदेखि नै मर्चवार क्षेत्रका नागरिकसँग नियमित सम्पर्कमा रहँदै आएका यादवले यसपटक किसान, व्यवसायी र बुद्धिजीवीहरूसँग अनौपचारिक छलफल गरेका हुन्। भेटघाटका क्रममा उनले मर्चवार क्षेत्रलाई समृद्ध बनाउने योजनाबारे सुझाव लिएका थिए।

ADVERTISEMENT

किसान र स्थानीयले भने मलखाद अभाव, कमसल मलखादको उच्च मूल्य र सुरक्षाकर्मीले तरकारी जफत गरेर भन्सार चलान गर्नेजस्ता समस्या सुनाए। उनीहरूले सीमापारिबाट आउने मलखाद गुणस्तरहीन र महँगो भएको गुनासो गरे। स्थानीय उत्पादनमा समेत प्रशासनको हस्तक्षेप भइरहेको भन्दै असन्तुष्टि पोखे।

छलफलमा नेता यादवले किसानका समस्यालाई समाधान गर्न जनमत पार्टीले सधैँ संघर्ष गर्दै आएको बताए। उनले भने, ‘किसान यो देशको मेरुदण्ड हुन्। किसानलाई सम्मान र अधिकारसहित बाँच्ने अवस्था बनाउनु हाम्रो मुख्य लक्ष्य हो।’

उनले मलखाद समस्या समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने प्रतिबद्धता जनाए। किसानले प्रयोग गर्ने विद्युत महसुल निशुल्क गर्न स्थानीय तहसँग समन्वय गर्ने आश्वासनसमेत दिए।

‘म मर्चवारको पीडा बुझ्दछु, भोगेको छु,’ यादवले भने, ‘अबका दिनमा यी समस्या अन्त्य गर्न म जुनसुकै बेला तयार छु।’

प्रकाशित मिति: २०८२ जेष्ठ २४, शनिबार २२:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !