मधेशदेखि हिमालसम्म जनमतको लोकप्रियता फैलिएको डा.राउतको दाबी

मधेशदेखि हिमालसम्म जनमतको लोकप्रियता फैलिएको डा.राउतको दाबी
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २४, शनिबार २१:३५
मधेशदेखि हिमालसम्म जनमतको लोकप्रियता फैलिएको डा.राउतको दाबी

राजविराज : जनमत पार्टीका राष्ट्रिय परिषद अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले पार्टी अब राष्ट्रिय नेतृत्व गर्न सक्ने अवस्थामा पुगेको दाबी गरेका छन्।

शनिबार सप्तरी क्षेत्र नं. २ मा आयोजित राष्ट्रिय परिषद समन्वय बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै डा. राउतले जनमत पार्टीको प्रभाव अब मधेश मात्र सीमित नरहेको दाबी गरे। “पार्टीको लोकप्रियता पहाड र हिमालसम्म फैलिएको छ,” उनले भने, “जनमत अब राष्ट्रिय शक्ति बन्ने दिशामा अघि बढिरहेको छ।”

ADVERTISEMENT

राउतका अनुसार पार्टीले प्रदेश सरकारमा सहभागी भएपछि नीति निर्माण र विकासका दृष्टिकोणमा भिन्नता ल्याएको छ। “अनुशासित र जनउत्तरदायी शैलीमा काम गर्दै, हामी जनअपेक्षाअनुसार कार्यक्रम अघि बढाइरहेका छौं,” उनले भने।

उनले नीति निर्माणमा जनसरोकारका विषयलाई प्राथमिकता दिइएको उल्लेख गरे। “जनताको आवाजलाई निर्णय प्रक्रियामा स्थान दिइएको छ,” राउतले भने, “नीति बनाउनेदेखि कार्यान्वयनसम्म जनसहभागितालाई सुनिश्चित गरिरहेका छौं।”

कार्यक्रममा मधेश प्रदेशका पूर्वमन्त्री तथा जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले सरकारको नीति तथा कार्यक्रम व्यवहारिक र जनमैत्री रहेको बताए। “किसान, शिक्षा, रोजगारी र डिजिटल मधेशजस्ता मुद्दा प्राथमिकतामा राखेर नीति निर्माण गरिएको छ,” उनले भने।

उनका अनुसार जनतासँग गरिएको प्रतिबद्धता कार्यान्वयनमा पार्टी गम्भीर छ। “अधिकार र विकासलाई सँगै लैजाने हाम्रो रणनीति हो,” यादवले थपे।

कार्यक्रम राजविराज नगर अध्यक्ष प्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला इन्चार्ज रामगमन साह, केन्द्रीय प्रचार विभाग प्रमुख ऋषिकेश ठाकुर, प्रदेश समिति सदस्य पिंकी भगत, प्रियंका सन्त, मञ्जु चौधरीलगायतले पनि धारणा राखेका थिए।

प्रकाशित मिति: २०८२ जेष्ठ २४, शनिबार २१:३५

तपाईको प्रतिक्रिया !