ठेकेदारको कामप्रति प्रश्न उठाउँदा जनमत अध्यक्ष सीके राउतमाथि मानहानीको मुद्दा

ठेकेदारको कामप्रति प्रश्न उठाउँदा जनमत अध्यक्ष सीके राउतमाथि मानहानीको मुद्दा
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २०, मंगलवार १७:४५
ठेकेदारको कामप्रति प्रश्न उठाउँदा जनमत अध्यक्ष सीके राउतमाथि मानहानीको मुद्दा

जनकपुरधाम : सप्तरीको रूपनी–राजविराज–हनुमाननगर सडक तथा राजबिराज–छिन्नमस्ता सडकको निर्माण अलपत्र परेको विषयमा सामाजिक सञ्जालमार्फत् आवाज उठाउँदा जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. सीके राउतमाथि ठेकेदारले मानहानीको मुद्दा दायर गरेका छन्।

जनप्रतिनिधिको नाताले आफूले सडक निर्माणमा देखिएको ढिलासुस्तीप्रति सार्वजनिक रूपमा प्रश्न उठाएको र ठेकेदारलाई सचेत गराएको राउतको भनाइ छ। तर यस्तै कार्यलाई लिएर कठौनाका ठेकेदार संजीव साहले आफूविरुद्ध मुद्दा दायर गरेको भन्दै उनले आपत्ति जनाएका छन्।

ADVERTISEMENT

रूपनी–राजबिराज–हनुमाननगर सडक तथा अन्य योजनाहरू टेन्डर भइसकेका, बजेट विनियोजन भइसकेको र ठेकेदारले भुक्तानीसमेत लिइसकेको अवस्था छ। तर ठेकेदारले काम नगर्दा स्थानीय जनता सास्तीमा परिरहेका छन्। राउतका अनुसार एकै जनाले १०–१५ वटा योजनाको ठेक्का लिएर पनि काम नगरी रकम अन्यत्र लगानी गर्ने प्रवृत्ति व्यापक रूपमा देखिएको छ।

“ठेकेदारहरू हाकाहाकी भन्छन्, ‘काम नगरे कसले के गर्छ? म्याद थप गराउँछु। म प्रहरीदेखि अदालतसम्म किनेको छु। पार्टीहरू र हाकिमहरू मेरो पकेटमा छन्।’ यस्तो प्रवृत्तिले देशभर विकासको गति रोकिएको छ,” राउतले फेसबुकमा लेखेका छन्।

उनले ठेकेदारको लापरवाहीका कारण जनताले चक्का जाम, धानरोपाइँजस्ता विरोधका माध्यमबाट आवाज उठाउँदै आएको बताउँदै सांसदले जनताका समस्या उठाउँदा उल्टै कानुनी कारबाहीमा तानिनु दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन्।

“जनताको सेवाका लागि हामी हरेक समय तत्पर छौं। सांसदको हैसियत कति कमजोर छ भन्ने यो घटनाबाट स्पष्ट हुन्छ,” राउतले भनेका छन्, “जनताको पक्षमा लडिरहने हाम्रो अठोट यथावत् रहनेछ।”

प्रकाशित मिति: २०८२ जेष्ठ २०, मंगलवार १७:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !