जनकपुरधाममा असार १० र ११ गते राष्ट्रिय शिक्षा सम्मेलन हुँदै

जनकपुरधाममा असार १० र ११ गते राष्ट्रिय शिक्षा सम्मेलन हुँदै
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ २०, मंगलवार ०१:३७
जनकपुरधाममा असार १० र ११ गते राष्ट्रिय शिक्षा सम्मेलन हुँदै

जनकपुरधाम : मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा राष्ट्रिय शिक्षा सम्मेलन हुने भएको छ। आगामी असार १० र ११ गते जनकपुरधाममा हुने सम्मेलनमा सातै प्रदेशका शिक्षामन्त्री, सचिव, संघीय प्रतिनिधि, शिक्षाविद्, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी संगठन, सञ्चारकर्मी लगायतको सहभागिता रहनेछ।

सोमबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्माले सम्मेलनका उद्देश्य, तयारी र सहभागिताबारे जानकारी दिइन्। मन्त्री शर्माले संघीयता कार्यान्वयनसँगै शिक्षा क्षेत्रमा देखिएका चुनौती समाधान गर्न तथा तीनै तहबीच समन्वयात्मक शिक्षा प्रशासन निर्माण गर्न सम्मेलन उपयोगी हुने बताइन्।

ADVERTISEMENT

‘हामी प्रदेश र स्थानीय तहको यथार्थ, चुनौती र सम्भावनालाई आधार मानेर शिक्षामा सुधारका बाटो खोज्दैछौं,’ मन्त्री शर्माले भनिन्, ‘यो सम्मेलन त्यसैको एउटा पहल हो।’

दुई दिनसम्म चल्ने सम्मेलनमा शिक्षण विधिमा नवप्रवर्तन, शिक्षा नीति र शासन, समावेशी तथा न्यायसंगत शिक्षा, डिजिटल शिक्षाको रूपान्तरण, समुदायको संलग्नता, प्रमाणमा आधारित अनुसन्धान, मधेश प्रदेशमा शिक्षा सम्बन्धी चुनौती र अवसर, तथा स्रोत परिचालनजस्ता विषयमा छलफल हुने छ।

सम्मेलनमा संघीय शिक्षा मन्त्रालय, विश्वविद्यालय तथा अनुसन्धान संस्थान, शिक्षक संघ, विद्यार्थी संगठन, नागरिक समाज, सञ्चार क्षेत्र र विकास साझेदारको उपस्थिति रहने मन्त्रालयले जनाएको छ।

मन्त्री शर्माले शिक्षा क्षेत्रमा क्रियाशील विज्ञ, शिक्षाविद्, अनुसन्धानकर्ता र शिक्षकहरूलाई कार्यपत्र वा सारांशसहित सम्मेलनमा सहभागी हुन आग्रह गरेकी छन्। सम्मेलन समावेशी, ज्ञानमूलक र नवप्रवर्तनशील हुने विश्वास उनले व्यक्त गरिन्।

उनका अनुसार सम्मेलनबाट मधेश प्रदेशको शिक्षा नीति कार्यान्वयनका लागि मार्गदर्शन प्राप्त हुने, संघीय शिक्षा नीतिमा योगदान पुग्ने, र प्रदेश, संघ तथा स्थानीय तहबीच समन्वयात्मक कार्यप्रणाली विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: २०८२ जेष्ठ २०, मंगलवार ०१:३७

तपाईको प्रतिक्रिया !