एमाले मन्त्री लेखीको कार्यशैलीप्रति पार्टीमै असन्तुष्टि, ‘२२ लाख लिएर नियुक्ति’ को आरोप

एमाले मन्त्री लेखीको कार्यशैलीप्रति पार्टीमै असन्तुष्टि, ‘२२ लाख लिएर नियुक्ति’ को आरोप
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १७, शनिबार ०९:०९
एमाले मन्त्री लेखीको कार्यशैलीप्रति पार्टीमै असन्तुष्टि, ‘२२ लाख लिएर नियुक्ति’ को आरोप

जनकपुरधाम : नेकपा एमालेमा पुनरागमन गरी मधेश प्रदेश सरकारमा गृह, कानून तथा सञ्चारमन्त्री बनेका राजकुमार लेखी पार्टीभित्रै कडा आलोचनाको घेरामा परेका छन्।

एमाले नेताहरूका अनुसार मन्त्री लेखीको कार्यशैली, व्यवहार र नियुक्तिमा देखिएको ‘मनपरी’ले पार्टीका धेरैजसो नेता असन्तुष्ट छन्।

ADVERTISEMENT

हालै बर्दिवासमा बसेको एमाले मधेश प्रदेश कमिटीको विस्तारित बैठकमा मन्त्री लेखीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको एक नेताले जानकारी दिए।

मधेश मिडिया काउन्सिलको अध्यक्ष नियुक्तिमा मन्त्री लेखीले पार्टीको निर्णय नपर्खी गुपचुप ढंगमा मनोमानी ढंगले निर्णय लिएको भन्दै बैठकमा तीव्र असन्तुष्टि व्यक्त भएको थियो। बैठकमा लेखीले विभिन्न नेताहरूको नाम उल्लेख गर्दै उनीहरूकै सिफारिसमा कमल उपाध्यायलाई अध्यक्ष बनाइएको दाबी गरेका थिए। तर नेतृ ज्वाला साहले ती दाबीको तत्काल खण्डन गरेपछि लेखीले आफ्नो भनाइ फिर्ता लिनुपरेको थियो।

बैठकमा सहभागी नेताहरूका अनुसार प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ र प्रदेश कमिटीलाई समेत नियुक्तिबारे कुनै जानकारी नगराई गरिएको निर्णय आपत्तिजनक रहेको बताएका छन्।

कमल उपाध्यायलाई अध्यक्षमा नियुक्त गरेको भोलिपल्टै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

प्रेस चौतारी नेपालका केही नेताहरूले मन्त्री लेखीले २२ लाख रुपैयाँ लिएर नियुक्ति गरेको आरोप लगाएका छन्। पार्टीको संस्थागत निर्णय, संसदीय दलका नेता तथा जिम्मेवार नेतासँग छलफल नगरी निर्णय लिएको भन्दै पार्टीले लेखीलाई बजेटपछि मन्त्री पदबाट फिर्ता बोलाउने तयारी गरेको स्रोतको दाबी छ।

मन्त्री लेखीको विवाद बढेपछि मिडिया काउन्सिलको बाँकी बोर्ड सदस्य नियुक्ति प्रक्रिया हाललाई स्थगित गरिएको छ। स्रोतका अनुसार मन्त्रालयलाई उक्त नियुक्ति आवश्यकताबारे पुनः सूचना प्रकाशन गर्न निर्देशन दिइएको छ।

गणतन्त्र दिवसका अवसरमा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा समेत पत्रकार अपमान भएको भन्दै आलोचना भइरहेको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिबार ०९:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !