१४ वर्षदेखि नबनेको कमला पुल : ‘नेतासँग प्रश्न गरौं’

१४ वर्षदेखि नबनेको कमला पुल : ‘नेतासँग प्रश्न गरौं’
जयनाथ पण्डित जयनाथ पण्डित २०८२ जेष्ठ १६, शुक्रबार २०:४३
१४ वर्षदेखि नबनेको कमला पुल : ‘नेतासँग प्रश्न गरौं’

काठमाडौं : धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमाथिको पुल अझै निर्माण हुन सकेको छैन । १४ वर्षअघि शिलान्यास भएको यो आयोजना पटक–पटक चुनावी एजेन्डा बन्न पुगे पनि अहिलेसम्म पनि काम सुरु हुन नसकेको भन्दै स्थानीयस्तरमा पुनः बहस सुरु भएको छ ।

सिरहाका पत्रकार सुरेन्द्र कामतीले पुल निर्माणको विषयमा मधेशका शीर्ष नेताहरूसँग आम नागरिकले खुलेर प्रश्न उठाउनुपर्ने बताएका छन् । उनले पुल निर्माण नहुनुको प्रमुख जिम्मेवार आफ्नै जिल्लाका नेताहरू भएको जिकिर गर्दै उनीहरूलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन् ।

ADVERTISEMENT

“१४ वर्ष बितिसक्दा पनि पुल बन्न नसक्नु लाजमर्दो विषय हो,” उनले भने, “यो अवस्थामा सबैभन्दा पहिला धनुषा र सिरहाका नेताहरूलाई जवाफदेही बनाउनु आवश्यक छ ।”

कामतीका अनुसार कमला नदीमाथिको पुल निर्माण २०७० सालको पहिलो संविधानसभा निर्वाचनदेखि नै प्रत्येक चुनावमा प्रमुख एजेन्डा बन्ने गरेको थियो । तर, २०६८ सालमै शिलान्यास भएको यो पुल अझै अलपत्र अवस्थामा रहेको छ । अझ दुःखद त के भने, आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटमा समेत पुल निर्माणको योजना समेटिएको छैन।

उनले पार्टीको झन्डा बोक्ने शैलीमा होइन, आफूलाई सधैं ‘जनताको प्रतिनिधि’ भनेर चिनाउने नेताहरू सामु नागरिकको हैसियतले प्रश्न गर्नुपर्ने बताएका छन् ।

‘पार्टी होइन, नागरिकको हैसियतमा प्रश्न गरौं’

“हामी पार्टीको कार्यकर्ता होइनौं, जनताको प्रतिनिधि हुँ भन्ने नेताहरूका अघि हामी प्रश्नकर्ताको रूपमा उभिनुपर्छ,” उनले भने, “कमला नदीमाथिको पुल अब पनि बन्न सक्दैन भने यो भन्दा ठूला विकासका कुरा खोक्रा नारामात्रै हुन् भन्ने पुष्टि हुन्छ ।”

कामतीले पुल निर्माण कार्य लगातार ढिलो हुनुमा धनुषा र सिरहाका पूर्वमन्त्रीहरूलाई मुख्य रूपमा जिम्मेवार मान्नुपर्ने धारणा राखेका छन् । शिलान्यास कार्यक्रममा सहभागी नेताहरू अहिले पनि सक्रिय राजनीतिमा छन् । तर, पुल निर्माणबारे उनीहरूले खासै चासो नदिएको उनले उल्लेख गरेका छन् ।

धनुषाका नेताहरू जसलाई प्रश्न गरिनु पर्ने कामतीको भनाइः

विमलेन्द्र निधि – पूर्व उपप्रधान तथा गृह मन्त्री (शिलान्यास सहभागी)
रामकृष्ण यादव – पूर्वमन्त्री (शिलान्यास सहभागी)
रघुवीर महासेठ – पूर्वमन्त्री
जुली महतो – पूर्वमन्त्री
रामचन्द्र झा – पूर्वमन्त्री (शिलान्यास सहभागी)
राम सरोज यादव – पूर्वमन्त्री (शिलान्यास सहभागी)
उमा शंकर अडगरिया – पूर्वमन्त्री
शत्रुधन महतो – पूर्वमन्त्री (शिलान्यास सहभागी)

सिरहाका नेताहरू जसलाई प्रश्न उठाउनुपर्ने भनाइः

सितादेवी यादव – पूर्वमन्त्री (शिलान्यास सहभागी)
लीलानाथ श्रेष्ठ – पूर्वमन्त्री
राजकिशोर यादव – पूर्वमन्त्री
डा. विरेन्द्र प्रसाद महतो – पूर्वमन्त्री
प्रमोद कुमार यादव – पूर्वमन्त्री
सुरेश मण्डल – पूर्वमन्त्री

कामतीले नेताहरूलाई व्यक्तिगत रुपमा आक्रोश पोख्ने हैसियतले नभई, लोकतान्त्रिक उत्तरदायित्वका आधारमा प्रश्न गरिनुपर्नेमा जोड दिएका छन् । “हामीले तिनीहरूलाई मुठभेड गर्न खोजेका होइनौं, उनीहरूले लिएको जिम्मेवारीबारे जवाफ माग्न चाहेका हौं,” उनले स्पष्ट पारे ।

कमला नदीमाथिको यो पुल निर्माण अब पनि हुन नसक्नु मधेश क्षेत्रका विकास परियोजनाको साख र सरकारी प्रतिबद्धताप्रति गम्भीर प्रश्न उठाउने विषय भएको कामतीले बताएका छन् ।

प्रकाशित मिति: २०८२ जेष्ठ १६, शुक्रबार २०:४३

तपाईको प्रतिक्रिया !