गुणस्तरहीन कामको विरोध गरेपछि स्वास्थ्यमन्त्री शत्रुधनको स्वकीय सचिवले कुटिए स्थानीय

गुणस्तरहीन कामको विरोध गरेपछि स्वास्थ्यमन्त्री शत्रुधनको स्वकीय सचिवले कुटिए स्थानीय
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १३, मंगलवार १५:३४
गुणस्तरहीन कामको विरोध गरेपछि स्वास्थ्यमन्त्री शत्रुधनको स्वकीय सचिवले कुटिए स्थानीय

सिरहा : सिरहाको गोलबजार नगरपालिकामा निर्माणाधीन नालाको कामप्रति असन्तुष्टि जनाएका एक स्थानीय व्यक्ति प्रदेश मन्त्रीका स्वकीय सचिवबाट कुटपिटमा परेका छन्।

गोलबजार नगरपालिका–६, डोहटियाका ३४ वर्षीय नारायण ठाकुरमाथि सोमबार साँझ साढे ८ बजे मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहका स्वकीय सचिव सतिशचन्द्र सिंह र स्थानीय एमाले कार्यकर्ता भुवन लामाले कुटपिट गरेको पीडित ठाकुरको आरोप छ।

ADVERTISEMENT

डोहटिया गाउँमा मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको ३० लाख रुपैयाँको बजेटमा निर्माण भइरहेको नालाको काममा माटोको लेभल मिलाइएको थिएन र गिट्टी कम प्रयोग गरिएको भन्दै ठाकुरले आपत्ति जनाएका थिए। उनले नालामा प्रयोग गरिएका रड पनि कवाडीको भएको दाबी गरेका छन्।

उक्त निर्माण कार्य स्थानीय एमाले नेता श्यामकुमार यादवको अध्यक्षतामा गठन गरिएको उपभोक्ता समितिबाट सिंहलगायतकै संलग्नतामा भइरहेको ठाकुरको भनाइ छ।

कामको गुणस्तरबारे सम्बन्धित निकायलाई जानकारी गराएको १५ मिनेटपछि स्वकीय सचिव सिंहले फोन गरेर आफूलाई निर्माण स्थलमा बोलाएको र गालीगलौज गर्दै भुवन लामा लगायतका व्यक्तिसहित कुटपिट गरेको ठाकुरको दाबी छ।

कुटपिटबाट उनको पेट, पिठ्युँ र टाउकोमा चोट लागेको छ। उनी सोमबार साँझै गोलबजारस्थित एक निजी अस्पतालमा भर्ना भएका छन्। ‘मुक्काले हान्दा भित्रि चोट लागेको डाक्टरले बताएका छन्,’ ठाकुरले मधेशपत्रसँग भने, ‘डाक्टरले केयर गर्नुपर्छ भनेका छन्।’

तर, स्वकीय सचिव सिंहले भने कुटपिटको आरोप अस्वीकार गरेका छन्। ‘मैले कुटेको होइन, उल्टै बचाएको हुँ,’ उनले भने, ‘यो त्यति ठूलो कुरा होइन, यस्तो सानातिना कुरा त भइरहन्छ।’

इलाका प्रहरी कार्यालय, गोलबजारका अनुसार घटनाबारे जानकारी प्राप्त भइसकेको र विस्तृत बुझ्ने प्रक्रिया अगाडि बढाइएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १३, मंगलवार १५:३४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !