सर्लाहीमा भारतीय नम्बरको स्कर्पियोसहित १५ लाख बराबरको गरगहना बरामद

सर्लाहीमा भारतीय नम्बरको स्कर्पियोसहित १५ लाख बराबरको गरगहना बरामद
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १२, सोमबार ०९:४६
सर्लाहीमा भारतीय नम्बरको स्कर्पियोसहित १५ लाख बराबरको गरगहना बरामद

जनकपुरधाम : सर्लाहीमा प्रहरीले ठूलो परिमाणमा अवैध गरगहना बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतवार साँझ प्रहरीले करीब १५ लाख रुपैयाँ बराबरको सुनचाँदीका गहना र भारतीय नम्बर प्लेटको स्कर्पियो गाडी बरामद गरेको हो।

बीआर ३० एके ७२२० नम्बरको स्कर्पियो गाडीमा लुकाइएको अवस्थामा विभिन्न किसिमका गरगहना फेला परेको प्रहरीले सोमबार सार्वजनिक गरेको छ। बरामद गरिएका गहना तथा गाडीलाई आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवा पठाइएको छ।

ADVERTISEMENT

गत जेठ ७ गते बिहान साढे ९ बजेतिर पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–१ मा चेकजाँचको क्रममा ट्राफिक प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ गइरहेको स्कर्पियो गाडी नियन्त्रणमा लिएको थियो। चेकजाँचका क्रममा गाडीमा कुनै भन्सार सम्बन्धी कागजात नभएको र चालकले मदिरा सेवन गरेको पाइएपछि प्रहरीले कारबाही अघि बढाएको हो।

ट्राफिक प्रहरीले मदिरा सेवन नगरेका चालक बोलाउन र ट्राफिक नियमअनुसार जरिवाना तिरेर जान जानकारी गराएपछि चालकसहित चार जना पुरुष व्यक्तिहरू गाडी त्यहीँ छाडेर आवश्यक कागजात ल्याउने भन्दै गएका थिए। तर उनीहरू लामो समयसम्म पनि नफर्किएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सरोज राईका अनुसार, इलाका प्रहरी कार्यालय लालबन्दीबाट मुचुल्का सहितको टोली गई जनप्रतिनिधिको रोहवरमा गाडी खानतलासी गरिएको थियो। खोजतलासीका क्रममा गाडीको अगाडिको इन्जिन भागमा प्लास्टिकले बेरिएको जेब्रा झोलाभित्र गम्छाले बेरिएको गरगहना, गाडीको भित्री भागबाट चाँदीका गहना र केही नगद समेत फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरिएको सामग्रीको अनुमानित मूल्य करिब १५ लाख रुपैयाँ रहेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १२, सोमबार ०९:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !