रामअषिश यादवको सम्झनामा डा. कृष्णा यादवको शैक्षिक अभियान

रामअषिश यादवको सम्झनामा डा. कृष्णा यादवको शैक्षिक अभियान
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ११, आईतवार ०८:३९
रामअषिश यादवको सम्झनामा डा. कृष्णा यादवको शैक्षिक अभियान

जनकपुरधाम : सिरहा नगरपालिका–१७ पटेर्वामा रामअषिश यादव स्मृति प्रतिष्ठानद्वारा निःशुल्क ‘कन्सेप्चुअल कोचिङ सेन्टर’ सञ्चालनमा आएको छ। प्रतिष्ठानका अध्यक्ष डा. कृष्णा यादवको अगुवाइमा सञ्चालनमा ल्याइएको यो केन्द्र कक्षा ८, ९ र १० मा अध्ययनरत विपन्न तथा गरिब विद्यार्थीहरूलाई लक्षित गरिएको छ।

शनिवार आयोजित उद्घाटन कार्यक्रममा बोल्दै डा. यादवले शिक्षाको जग बलियो बनाउन आधारभूत तहमा ध्यान दिनुपर्ने बताए। “मेरो बुवा शिक्षण पेशामा समर्पित हुनुहुन्थ्यो,” उनले भने, “उहाँ कार्यरत विद्यालयबाटै शैक्षिक क्रियाकलापको थालनी गर्नु मेरो जिम्मेवारी हो।”

ADVERTISEMENT

उक्त अवसरमा पूर्व प्रधानाध्यापक बेचु साहले वृद्धावस्थाले यो सम्भवतः आफ्नो अन्तिम सार्वजनिक कार्यक्रम हुने उल्लेख गर्दै, शिक्षामा पछिल्लोपटक बढ्दो राजनीतिक हस्तक्षेपप्रति चिन्ता व्यक्त गरे। “शिक्षक र विद्यार्थी दुवै अनुशासित हुनुपर्छ,” उनले भने, “तर राजनीतिक प्रभावले शिक्षकहरू खण्डित भइरहेका छन्।”

वरिष्ठ पत्रकार तथा सामाजिक अभियन्ता रामरिझण यादवले रामअषिश यादवको योगदानलाई स्मरण गर्दै डा. कृष्णा यादव बुवाको अधुरो सपना पूरा गरिरहेको बताए। उनले हरेक महिनामा दुई दिन स्वयं कक्षा लिएर योगदान दिने प्रतिबद्धता पनि जनाए।

सीमावर्ती क्षेत्रको शैक्षिक विकासमा नयाँ आशा बोकेको यो कोचिङ सेन्टरले स्थानीय समुदायमा सकारात्मक सन्देश दिने विश्वास गरिएको छ।

 

प्रकाशित मिति: २०८२ जेष्ठ ११, आईतवार ०८:३९

तपाईको प्रतिक्रिया !