मधेश प्रदेशमा एकैसाथ ६४ वटै निर्वाचन क्षेत्रमा सडक निर्माणको थालनी हुँदै

मधेश प्रदेशमा एकैसाथ ६४ वटै निर्वाचन क्षेत्रमा सडक निर्माणको थालनी हुँदै
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १०, शनिबार १९:२८
मधेश प्रदेशमा एकैसाथ ६४ वटै निर्वाचन क्षेत्रमा सडक निर्माणको थालनी हुँदै

जनकपुरधाम : मधेश प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजना अन्तर्गत प्रदेशका सबै ६४ वटै निर्वाचन क्षेत्रमा एकैपटक सडक निर्माण थालनी गरिने भएको छ।

जनमत पार्टी नेता सतिशकुमार सिंह नेतृत्वको प्रदेश सरकारको यो योजनालाई मधेश सरकारले ‘गौरवको योजना’ को रुपमा अगाडि बढाएको हो।

ADVERTISEMENT

भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवका अनुसार सडक निर्माण कार्यको शिलान्यास जेठ १८ गते एकैसाथ ६४ स्थानमा गरिनेछ। “मधेशको विकास हाम्रो प्रतिबद्धता हो। सडक पूर्वाधार सुदृढीकरणमार्फत रोजगारी सिर्जना, आर्थिक गति र जनजीवनमा प्रत्यक्ष सुधार ल्याउने हाम्रो लक्ष्य छ,” मन्त्री यादवले भने।

सडक निर्माणका लागि आवश्यक सबै प्रशासनिक प्रक्रिया पूरा भइसकेको प्रदेश सरकारको दाबी छ। गुणस्तरीय र दिगो निर्माण कार्य सुनिश्चित गर्ने गरी योजना बनाइएको बताइएको छ।

स्थानीयवासी र सर्वसाधारणले योजनाको स्वागत गरेका छन्। उनीहरूले पहिलोपटक योजनाबद्ध ढंगमा सबै निर्वाचन क्षेत्रमा एकसाथ काम थालिएको देखेर ‘मधेशले साँच्चिकै विकासको बाटो समातेको’ अनुभूति भएको बताएका छन्।

प्रदेश सरकारले योजनाको सफल कार्यान्वयनले समावेशी र सन्तुलित पूर्वाधार विकासको जग बसाउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ १०, शनिबार १९:२८

तपाईको प्रतिक्रिया !