अलपत्र बसही पुल : दुर्घटनास्थल बन्दै ढल्केबर–जनकपुर सडक, ठेकेदार सम्पर्कविहीन

अलपत्र बसही पुल : दुर्घटनास्थल बन्दै ढल्केबर–जनकपुर सडक, ठेकेदार सम्पर्कविहीन
विजयकुमार साह विजयकुमार साह २०८२ जेष्ठ ८, बिहीबार १६:०५
अलपत्र बसही पुल : दुर्घटनास्थल बन्दै ढल्केबर–जनकपुर सडक, ठेकेदार सम्पर्कविहीन

जकपुरधाम : जनकपुरधामको मुख्य प्रवेशद्वार मानिने ढल्केबर–जनकपुर सडकखण्डमा निर्माणाधीन बसही पुल अलपत्र परेपछि सो क्षेत्र सवारी दुर्घटनाको केन्द्र बनेको छ।

छ लेनको जटही–जनकपुर–ढल्केबर सडक निर्माण सम्पन्न भइसके पनि बसही खोलामा निर्माण भइरहेको पुल वर्षौँदेखि अधुरो छ। सडक फराकिलो, तर पुल साँघुरो हुँदा सवारी चालक अलमलिने र दुर्घटना हुने गरेको स्थानीयले गुनासो गरेका छन्।

ADVERTISEMENT

२०७६ असार ३१ मा नागार्जुन हेम कन्स्ट्रक्सन जेभीले १४ करोड ८ लाख २३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी पुल निर्माण सुरु गरेको थियो। सम्झौताअनुसार २०७८ असार ३० भित्रै पुल निर्माण सकिनुपर्ने थियो। तर ठेक्का सम्झौता भएको झन्डै सात वर्ष पुग्न लाग्दा पनि हालसम्म ४० प्रतिशत मात्र काम सम्पन्न भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार पछिल्ला दुई वर्षमा पुल क्षेत्रमा मात्रै ४५ वटा सवारी दुर्घटना भएका छन्। तीमध्ये ११ जनाले ज्यान गुमाएका छन् भने ३४ जना घाइते भएका छन्।

ट्राफिक प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले दुर्घटनाको मुख्य कारण चालकको लापरवाही भएको दाबी गरे पनि स्थानीय भने पुलकै संरचनात्मक अपूर्णता जिम्मेवार रहेको बताउँछन्।

स्थानीय रामएकवाल यादव भन्छन्, “सडक त छ लेनको छ तर पुल एक लेनको मात्र। गाडी तीव्र गतिमा आउँदा अचानक साँघुरो पुल देखिन्छ, अलमलिन्छ र दुर्घटना हुन्छ।”

मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादवले पुल आसपासका दुई सय मिटर क्षेत्र ‘दुर्घटनास्थल’ बनेको बताए। “पाँच पटक सडक डिभिजन कार्यालय गइसकेका छौं,” उनले भने, “तर कसैलाई चासो छैन।”

निर्माण रोकिएपछि स्थानीयले पटकपटक सडक जाम, धर्ना र विरोध गरेका छन्। मन्त्रीदेखि मुख्यमन्त्रीसम्म यही बाटो प्रयोग गर्ने भए पनि पुल निर्माणमा कुनै पहल नदेखिएको वडाध्यक्ष यादवको आरोप छ।

जटही–जनकपुर–ढल्केबर ६ लेन सडक कार्यालय बर्दिवासका इञ्जिनियर उज्ज्वल झाले ठेकेदार सम्पर्कविहीन भएपछि काम रोकिएको जानकारी दिए। “दुईपटक म्याद थप गरिसक्यौं, तर भौतिक प्रगति ४० प्रतिशत मात्र छ,” उनले मधेशपत्र भने।

कार्यालयले चैत २९ मा अन्तिम स्पष्टीकरण माग्दै पत्राचार गरेको थियो। तीन दिनको म्याद दिइएको भए पनि अहिलेसम्म प्रतिक्रिया आएको छैन। राष्ट्रिय दैनिकमार्फत सूचना प्रकाशित गरेर पनि सम्पर्कमा आउन आग्रह गरिएको उनले बताए।

प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहीबार १६:०५

तपाईको प्रतिक्रिया !