चमार समुदायको माग : “अम्बेडकर पार्क शिलान्यास भएको ठाउँमै बनाउनुपर्छ”

चमार समुदायको माग : “अम्बेडकर पार्क शिलान्यास भएको ठाउँमै बनाउनुपर्छ”
सुनिल कर्ण सुनिल कर्ण २०८२ जेष्ठ ७, बुधबार २१:३४
चमार समुदायको माग : “अम्बेडकर पार्क शिलान्यास भएको ठाउँमै बनाउनुपर्छ”

जनकपुरधाम : चमार समुदायका अगुवा र संघसंस्थाहरूले सिरहा लहानस्थित शिलान्यास भइसकेको ठाउँमै डा. भीमराव अम्बेडकर पार्क निर्माण गर्न माग गरेका छन्।

बुधबार मुख्यमन्त्री सतिशकुमार सिंहलाई जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट्दै उनीहरूले ज्ञापनपत्र बुझाएका हुन्। अम्बेडकर पार्क बनाउने भनेर शिलान्यास गरिएको लहान–७, सलहेस फूलबारी नजिकको १० धुर जग्गामै पार्क बनाउनुपर्ने उनीहरूको माग छ।

ADVERTISEMENT

जग्गा अपुग भए चमार समुदायका डा. काशीन्द्र महरा चमारले थप दुई कट्ठा जग्गा सरकारलाई दिने लिखित प्रस्ताव पनि ज्ञापनपत्रमार्फत दिइएको छ।

ज्ञापनपत्रमा पासवान समुदायका केही नेताहरूको विरोधकै कारण बहुसंख्यक दलित समुदायको आवाज दबाउने प्रयास भएको गुनासो छ। “कसैको विरोधका कारण हाम्रो अधिकार कुन्ठित हुन सक्दैन,” ज्ञापनपत्रमा भनिएको छ।

पार्कमा चमार समुदायका गुरु रविदास, मुसहर समुदायका दीनाभद्री र राजा सलहेसको पनि शालिक राख्ने प्रस्ताव गरिएको छ। प्रदेश सरकारले निर्माण गर्न नसके चन्दाबाट भए पनि आफूहरूले पार्क बनाउने चेतावनी दिइएको छ।

ज्ञापनपत्रमा चमार कल्याण समाज नेपालका अध्यक्ष दिनेश चमारसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ। ज्ञापनपत्रमा दलित समुदायसँग सम्बन्धित थप आठवटा माग पनि समावेश छन्।

 

प्रकाशित मिति: २०८२ जेष्ठ ७, बुधबार २१:३४

तपाईको प्रतिक्रिया !