नोरा फतेहीले भनिन्– ‘नेपालीको माया पाउँदा खुशी छु’

नोरा फतेहीले भनिन्– ‘नेपालीको माया पाउँदा खुशी छु’
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ३, शनिबार २०:४८
नोरा फतेहीले भनिन्– ‘नेपालीको माया पाउँदा खुशी छु’

काठमाडौँ : भारतीय अभिनेत्री तथा चर्चित नृत्याङ्गना नोरा फतेही पहिलो पटक नेपाल आएकी छन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली दर्शकको मायाले आफू उत्साहित भएको बताउँदै, नेपालको आतिथ्य र सहयोगी भावना प्रशंसनीय रहेको बताइन्।

नोरा फतेही ‘नोरा फतेही लाइभ इन नेपाल’ नामक सांगीतिक प्रस्तुति कार्यक्रममा भाग लिन नेपाल आएकी हुन्। कार्यक्रम आज साँझ तारागाउँस्थित ह्यात चौरमा आयोजना हुँदैछ।

ADVERTISEMENT

उक्त कार्यक्रम सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना गरिएको हो। शिक्षा क्षेत्रमा पछाडि परेका बालबालिकाको सहयोगका लागि कार्यक्रम राखिएको आयोजक वल्र्डवाइड फिल्म्स नेटवर्क प्रालिका मनिष कार्कीले जानकारी दिए।

उनले भने, “मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। नेपालमा अभिनेत्री फतेहीको लोकप्रियता हेरेर गरिएको आग्रहमा उहाँले सहजै सहमति जनाउनुभयो।”

फतेहीसँगै उनको नृत्य टोलीका २३ जना सदस्य यसअघि नै नेपाल आइपुगेका छन्। कार्यक्रमको व्यवस्थापन मनु मिडिया प्रालिले गरेको छ।

नोरा फतेहीका ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ र ‘स्नेक डान्स’ जस्ता गीतहरू नेपालमा पनि लोकप्रिय छन्।

कार्यक्रममा नेपाली कलाकारहरू गायक दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर र नृत्यकार समर्पण लामालगायतले समेत प्रस्तुति दिनेछन्। अभिनेत्री फतेही आइतबार बिहान भारत फर्किने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिबार २०:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !