रौतहटमा बागमती नदीको अनुगमन, एक जेसिभी नियन्त्रणमा

रौतहटमा बागमती नदीको अनुगमन, एक जेसिभी नियन्त्रणमा
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ३, शनिबार २०:१७
रौतहटमा बागमती नदीको अनुगमन, एक जेसिभी नियन्त्रणमा

रौतहट : जिल्लामा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन बढ्दै गएको गुनासोपछि रौतहटमा शुक्रबार बागमती नदीको स्थलगत अनुगमन गरिएको छ।

अनुगमनका क्रममा गढीमाई नगरपालिका–७ स्थित बालुवा घाटमा अवैध उत्खननमा प्रयोग गरिएको एक थान जेसिभी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालय रौतहटको पहलमा भएको अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) विनोदकुमार खड्का, जिल्ला समन्वय समिति (जसस) का सभापति राम अयोध्याप्रसाद यादव, नेपाल प्रहरी रौतहटका एसपी नेत्र मणि गिरी, सशस्त्र प्रहरीका एसपी सन्तोषकुमार बस्नेत तथा राष्ट्रिय अनुसन्धान विभागका एसपी अभिनयकुमार सिंह सहभागी थिए।

टोलीले वृन्दावन नगरपालिका अन्तर्गतको रमौली, विश्रामपुर, हरैया पल्टुवा तथा गढीमाई नगरपालिकाको समनपुरलगायतका नदी क्षेत्रका प्रमुख घाटहरूमा अवैध उत्खनन, निकासी तथा क्रसर उद्योग सञ्चालन भइरहेको स्थानको अनुगमन गरेको थियो।

सीडीओ खडकाले क्रसर उद्योगमा भण्डारण गरिएका नदीजन्य पदार्थको स्रोत, मौज्दात विवरण र मूल्य अभिलेख (भ्याट) समेत हेर्न निर्देशन दिएका थिए।

स्थानीय प्रशासनका अनुसार जिल्लाको पूर्वी भागमा बहने बागमती र पश्चिमी भागको लालबकैया नदीबाट ठेक्का नलागीकनै अवैध दोहन भइरहेको छ। स्थानीयहरूका अनुसार पछिल्लो समय नदीजन्य पदार्थ उठाएर बढी मूल्यमा बिक्री गर्ने प्रवृत्ति बढ्दो छ।

जसस सभापति यादवले निर्वाचित भएयता जिल्लाभरिका नदीको दोहन बढेको भन्दै स्थानियहरूले उनको संलग्नतामाथि प्रश्न उठाएका छन्। उनका निकटका व्यापारीहरूमार्फत क्रसर उद्योग सञ्चालन हुँदै आएको आरोप पनि छ।

शुक्रबार भएको अनुगमन यस आर्थिक वर्षको पहिलो प्रयास भए पनि स्थायी समाधानको पहल नभएको भन्दै स्थानीयहरूले झारो टार्ने काम मात्र भएको टिप्पणी गरेका छन्।

प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिबार २०:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !