जनकपुरधाममा नयाँ विद्युत पोल जडान, केबल व्यवस्थापनमा वडाध्यक्ष साहको आग्रह

जनकपुरधाममा नयाँ विद्युत पोल जडान, केबल व्यवस्थापनमा वडाध्यक्ष साहको आग्रह
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ३, शनिबार १५:३७
जनकपुरधाममा नयाँ विद्युत पोल जडान, केबल व्यवस्थापनमा वडाध्यक्ष साहको आग्रह

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–३ अन्तर्गत पर्शुराम मार्गस्थित हंसराज होटलदेखि मिल्स एरियातर्फ जाने पुरानो सडकखण्डमा नयाँ प्रविधियुक्त विद्युत पोल जडानको काम सुरु हुँदैछ।

पुराना पोल हटाएर नयाँ पोल जडान गर्न लागिएको यो कामसँगै केबल व्यवस्थापनमा उत्पन्न समस्या समाधान गर्न वडाध्यक्ष दिपेन्द्र कुमार साहले सम्बन्धित सबै सेवा प्रदायकलाई तत्काल ध्यान दिन आग्रह गरेका छन्।

ADVERTISEMENT

वडाध्यक्ष साहका अनुसार हाल रहेका पोलहरूमा इन्टरनेट, डिस होम, टेलिफोन तथा अन्य केबल सेवा प्रदायक कम्पनीहरूले तारहरू अव्यवस्थित रूपमा झुन्ड्याएका छन्। यसले नयाँ विद्युत प्रणाली जडान गर्न प्राविधिक असहजता उत्पन्न गरेको उनको भनाइ छ।

‘यो विकास कार्यलाई सहज बनाउन सबै सेवा प्रदायकको सहयोग अनिवार्य छ,’ उनले भने, ‘यदि सोमबारसम्म सबै किसिमका तारहरू व्यवस्थित रूपमा अर्को पोलमा सारिएनन् भने त्यसपछि हुने कुनै घटनाको जिम्मेवारी वडा कार्यालयले लिने छैन।’

उनका अनुसार सबै इन्टरनेट, केबल, टेलिकम तथा अन्य तार जडान गर्ने कम्पनीहरूलाई औपचारिक पत्रमार्फत सूचना दिने प्रक्रिया पनि सुरु गरिएको छ।

जनकपुरधामका धेरै क्षेत्रमा विद्युत पोलमा तारहरू अव्यवस्थित रूपमा झुन्डिएको देखिन्छ। यसले शहरी सौन्दर्य मात्र नभई सुरक्षा जोखिम पनि बढाएको वडाध्यक्ष साहको भनाइ छ। नयाँ पोल जडानसँगै यस्ता समस्या समाधान हुने अपेक्षा गरिएको छ।

साहले स्थानीय बासिन्दा र व्यवसायीहरूलाई पनि यो काममा सजग र सहयोगी बन्न आह्वान गरेका छन्। ‘यो केवल सरकारको काम होइन, सबैको साझा प्रयासबाट मात्रै समृद्ध र व्यवस्थित वडा निर्माण सम्भव छ,’ उनले भने।

प्रकाशित मिति: २०८२ जेष्ठ ३, शनिबार १५:३७

तपाईको प्रतिक्रिया !