जनता आवास कार्यक्रमले विपन्नलाई विस्थापित बनायो : डा. राउत

जनता आवास कार्यक्रमले विपन्नलाई विस्थापित बनायो : डा. राउत
जयनाथ पण्डित जयनाथ पण्डित २०८२ बैशाख ३१, बुधबार १८:०३
जनता आवास कार्यक्रमले विपन्नलाई विस्थापित बनायो : डा. राउत

काठमाडौं : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. सीके राउतले संघीय सरकारको विकास निर्माण सम्बन्धी भूमिका पुनः परिभाषित गर्नुपर्ने बताएका छन्। उनले स्थानीय स्तरका विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्न माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै डा. राउतले विकास निर्माणका कार्यमा संघीय सरकारको प्रत्यक्ष संलग्नता अनुचित भएको टिप्पणी गरे।

ADVERTISEMENT

“अब विकासकारी हस्तान्तरणको सिद्धान्तलाई लिनुपर्छ,” उनले भने, “फलानोको घरदेखि ढिस्कानोको घरसम्म ढलान बनाउने काम संघीय सरकारको होइन। यसलाई प्रदेश र स्थानीय सरकारलाई जिम्मा दिनुपर्छ।”

डा. राउतले संघीय सरकारले विकासका काममा सहकार्य र समन्वयको भूमिका मात्र निर्वाह गर्नुपर्ने तर्क गरे। “हामीले धेरै लोभ नगरी विकास निर्माणका सबै काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने सिद्धान्त बजेटमा अवलम्बन गर्नुपर्छ,” उनले स्पष्ट पारे।

उनले ‘जनता आवास कार्यक्रम’प्रति पनि गम्भीर आपत्ति जनाउँदै, उक्त कार्यक्रमले विपन्न वर्गलाई सहयोग गर्नुको सट्टा झनै विस्थापित बनाएको आरोप लगाए। “विपन्न वर्गका बासस्थान तोडफोड गरेर उनीहरूलाई अन्यत्र विस्थापित बनाउने कार्य भइरहेको छ,” उनले भने, “यो कार्यक्रम जनताको हितमा होइन, क्षति पु-याउने खालको देखिएको छ।”

डा. राउतले संघीयता, सहकार्य र आत्मनिर्भर शासन प्रणालीलाई मजबुत बनाउने गरी बजेट नीति तयार गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: २०८२ बैशाख ३१, बुधबार १८:०३

तपाईको प्रतिक्रिया !