रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको काम फेरि अन्योलमा पर्‍यो

रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको काम फेरि अन्योलमा पर्‍यो
मधेशपत्र मधेशपत्र २०८२ बैशाख २०, शनिबार ०९:०२
रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको काम फेरि अन्योलमा पर्‍यो

जनकपुरधाम : गुठी संस्थाले अनपेक्षित भाडा माग गरेपछि जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालाको भविष्य फेरि अन्योलमा परेको छ । गुठी संस्थानले रंगशाला निर्माणका लागि लिजमा दिने जग्गाको वार्षिक भाडा ४९ लाख ९० हजार रुपैयाँ मागेपछि निर्माणको काम प्रभावित हुने देखिएको हो ।

गुठी संस्थानको पूर्वाधार विकास तथा सम्पदा संरक्षण शाखाले ११ वैशाखमा मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयलाई पत्र पठाउँदै उक्त भाडादरमा लिज सम्झौता गर्न अनुरोध गरेको थियो । जनकपुरधाम उपमहानगरपालिका– १४ अन्तर्गत रहेको करिब १७ बिघा क्षेत्रफलको तैनाथी जग्गा रंगशाला निर्माणका लागि लिजमा दिन माग गरिएको हो ।

गुठी संस्थानले ‘गुठी तैनाथी घरजग्गा लिज तथा बहालमा दिने निर्देशिका २०७८’ अनुसार वार्षिक भाडा तोकिएको बताएको छ । साथै, लिज अवधिभर प्रत्येक दुई वर्षमा भाडा १० प्रतिशतले बढ्ने व्यवस्था गरिएको छ । अधिकतम २५ वर्षका लागि मात्र लिज सम्झौता गर्न सकिने गुठीको भनाइ छ ।

यसअघि ३ मंसिर २०७४ मा राष्ट्रिय खेलकुद परिषद् र गुठी संस्थानबीच उक्त जग्गा वार्षिक ९ लाख रुपैयाँमा भाडामा दिने सम्झौता भएको थियो । तर, परिषद्‌ले उक्त रकम नबुझाएपछि गुठीले सम्झौता रद्द गरिएको थियो । त्यसपछि प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाको सक्रियतामा पुनः लिज प्रक्रिया अघि बढाइएको थियो ।

जनकपुरधामका नगर प्रमुख मनोजकुमार साहले गुठी संस्थानले अनपेक्षित भाडा मागेको आरोप लगाउँदै यसले रंगशाला निर्माणमा अवरोध पुर्‍याएको बताए । ‘हाम्रो आफ्नै नगरमा विकासको काम गर्दा गुठीले अवरोध गर्नु दुःखद र निन्दनीय छ,’ उनले भने ।

यसबीच, उपमहानगरपालिकाले हालसम्म रंगशाला निर्माणमा डेढ करोड रुपैयाँ खर्च गरिसकेको छ भने मधेश प्रदेश सरकारले करोड लगानी गरिसकेको छ । रंगशाला निर्माणका लागि प्रदेश सरकारले बजेट व्यवस्थापनमा पनि गरिरहेको छ ।

जनकपुरधाम भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका १ अर्ब भारतीय रुपैयाँ सोही रंगशालामा खर्च गर्न प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिका सहमत भई भारतीय दूतावासलाई पत्रसमेत पठाइसकेको छ । यस्तो अवस्थामा गुठीले विगतका भन्दा ५ गुणा बढी भाडा मागेपछि बहुप्रतीक्षित रंगशालाको सपना अधुरो रहन सक्ने स्थानीय खेलप्रेमीहरूको भनाइ छ ।

प्रकाशित मिति: २०८२ बैशाख २०, शनिबार ०९:०२

तपाईको प्रतिक्रिया !