मधेशमा पर्यटन विकास गर्न साझा प्रयासको आवश्यकता : मन्त्री सकिल अलि

मधेशमा पर्यटन विकास गर्न साझा प्रयासको आवश्यकता : मन्त्री सकिल अलि
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १९, शुक्रबार १२:५९
मधेशमा पर्यटन विकास गर्न साझा प्रयासको आवश्यकता : मन्त्री सकिल अलि

राजविराज : मधेश प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँले मधेशमा पर्यटन विकासको लागि सबैपक्षको सहयोग आवश्यक रहेको बताए । पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिँदै अब छिट्टै ‘मधेश प्रदेश पर्यटन बोर्ड’ गठन गर्ने तयारी थालेको भने ।

मन्त्री मियाँले पर्यटन ऐन कार्यान्वयनको चरणमा पुगेको जानकारी दिँदै यसका लागि आवश्यक नियमावली अन्तिम चरणमा पुगेको बताएका छन् ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको संयुक्त आयोजनामा बिहीबार सप्तरीको राजविराजमा सम्पन्न ‘स्थानीय सरकार, मधेश प्रदेश सरकार, पर्यटन व्यवसायी र सरोकारवालाबीचको बैठक तथा अन्तरक्रिया, अवलोकन तथा प्रचारप्रसार कार्यक्रम’ मा बोल्दै मन्त्री मियाँले मधेशको पर्यटन विकासका लागि साझा प्रयास आवश्यक रहेको बताए ।

मन्त्री मियाँले मधेश प्रदेशमा पहिलोपटक पर्यटकीय संरचना व्यवस्थापनको प्रयास अन्तर्गत ऐन बनिसकेको र अब नियमावलीमार्फत संस्थागत संरचना तयार पारिने जानकारी दिए । उनले भने, ‘पर्यटन ऐन बनिसकेको छ, नियमावली तयार भइसकेको छ, अब छिट्टै पर्यटन बोर्ड गठन हुँदैछ । यो बोर्ड मधेशको पर्यटन नक्सालाई फराकिलो बनाउने छ ।’

उनका अनुसार बोर्डको माध्यमबाट निजी क्षेत्र, स्थानीय तह र प्रदेश सरकारबीच सहकार्य बढाएर पर्यटन प्रवद्र्धन गरिनेछ । मधेश प्रदेशका सबै आठ जिल्लामा धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक महत्त्व बोकेका स्थलहरूको पहिचान र संरक्षणका लागि सरकार लागिपरेको मन्त्री मियाँको भनाइ छ । उनले अघिल्ला वर्षहरूमा पनि पर्यटन विकासका लागि बजेट विनियोजन गरिएको स्मरण गराउँदै आउँदो आर्थिक वर्षमा अझ प्रभावकारी कार्यक्रम ल्याइने बताए ।

मन्त्री मियाँले पर्यटन विकास सरकारको एकल प्रयासमा सम्भव नरहेको प्रष्ट पारे । ‘यस क्षेत्रमा निजी क्षेत्र, व्यवसायी, स्थानीय सरकार, सरोकारवाला सबैको सक्रिय सहयोग आवश्यक छ,’ उनले जोड दिए ।

कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला समन्वय समिति प्रमुख शिवनारायण साह, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, पूर्व सिंचाई मन्त्री उमेश कुमार यादव, राजविराज नगरपालिकाका पूर्व मेयर शैलेश चौधरी लगायत वक्ताहरूले सप्तरी र मधेशका अन्य जिल्लामा रहेका ऐतिहासिक तथा धार्मिक स्थलहरूको संरक्षण र प्रचारप्रसारमा स्थानीय, प्रदेश र संघ सरकारको तिनै तहबाट साझा प्रयास आवश्यक रहेको धारणा राखे ।

उनीहरूले राजविराजको छिन्नमस्ता भगवती मन्दिर, कञ्चनरुपका प्राचीन पोखरीहरू, हनुमाननगरका ऐतिहासिक भवनहरू, बिष्णुपुराको गढ़ी, बिराटकालीन स्थलहरू जस्ता स्थानहरूको प्रवद्र्धनले मधेश प्रदेशको पर्यटन भविष्य उज्ज्वल हुनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रमका आयोजक तथा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतमले अब पर्यटन विकास नीतिगत र व्यावसायिक ढंगबाट अघि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित मिति: २०८२ बैशाख १९, शुक्रबार १२:५९

तपाईको प्रतिक्रिया !