जसपा नेपालकी नेतृ बबिले पड्काएको पेस्तोल सर्लाहीबाट बरामद

जसपा नेपालकी नेतृ बबिले पड्काएको पेस्तोल सर्लाहीबाट बरामद
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १८, बिहीबार १५:१४
जसपा नेपालकी नेतृ बबिले पड्काएको पेस्तोल सर्लाहीबाट बरामद

जनकपुरधाम : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले सर्लाहीमा हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको खुलेको छ ।

पेस्तोल पड्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि नेतृ यादवमाथि सप्तरी प्रहरीले अनुसन्धान थालेको हो । उनले पड्काएको पेस्तोल भने सर्लाहीमा बरामद भएको छ ।

नेतृ यादवले भारत विहारको एक विवाह समारोहमा नक्कली पेस्तोल पड्काएको दावी गरेकी थिइन् । तर प्रहरीले अनुसन्धान गर्दा उनी बयान फेरेको बुझिएको छ । उनको वयानकै आधारमा सर्लाहीको मलंगवा नगरपालिका २ का अञ्जनी कुमारको घरबाट प्रहरीले पेस्तोल बरामद गरेको छ ।

नेतृ बबीसँग सोधपुछ सप्तरी प्रहरीले घटनाबारे सर्लाही प्रहरीलाई जानकारी गराएको थियो । त्यसपछि अञ्जनी कुमारको घर खानतलासी गर्दा उक्त पेस्तोल भेटिएको डीएसपी सरोज राईले बताए ।

नेतृ सिंहले उक्त पेस्तोल मलंगवा नगरपालिका ५ को भाँड्चौर भन्ने ठाउँमा पड्काएको खुलेको हो ।

सर्लाहीका डीएसपी राईका अनुसार ११ वैशाखमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी-मेहेन्दी कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएको खुलेको हो ।

बरामद पेस्तोल भने बारुद मात्रै पड्किने किसिमको रहेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।

सप्तरीको बोदे बरसाइन नगरपालिका–५ की यादव जसपा नेपालकी उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी हुन् ।

प्रकाशित मिति: २०८२ बैशाख १८, बिहीबार १५:१४

तपाईको प्रतिक्रिया !