एकताले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्नेछ : सीके राउत

एकताले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्नेछ : सीके राउत
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १६, मंगलवार २३:५१
एकताले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्नेछ : सीके राउत

काठमाडौं : मधेश र सुदूरपश्चिम प्रदेशसभामा निर्णायक रहेका जनमत र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार एकता घोषणा हुँदै छ । मंगलबार दुई दलले आ–आफ्नो केन्द्रीय कार्यसमिति बैठक गरी पार्टी एकताका लागि औपचारिक निर्णय गरेका हुन् । नयाँ पार्टीको नाम ‘नागरिक जनमत’ रहनेछ । एकतापछि संसद्मा छैटौं ठूलो दल बन्नेछ ।

एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा डा.सीके राउत र संरक्षकमा रेशम चौधरी रहने समझदारी छ । राउत जनमतका अध्यक्ष हुन् भने चौधरी नागरिक उन्मुक्तिका संरक्षक हुन् । नयाँ पार्टीको सहअध्यक्षमा नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ रहने समझदारी भएको छ । ०७७ सालमा जनमत र ०७८ सालमा नागरिक उन्मुक्ति गठन भएका थिए ।

हाल संघीय संसद्‌मा जनमतबाट प्रत्यक्षतर्फ निर्वाचित १ र समानुपातिकतर्फ ५ गरी ६ सांसद छन् । नागरिक उन्मुक्तिका प्रत्यक्षतर्फ निर्वाचित ४ सांसद छन् । एकीकरणपछि दलको सांसद संख्या १० हुनेछ । ०७९ को निर्वाचनमा जनमतले समानुपातिकमा ३ लाख ९४ हजार ६ सय ५५ र नागरिक उन्मुक्तिले २ लाख ७१ हजार सात सय २२ मत ल्याएका थिए । दुवै दलको समानुपातिक मत संख्या जोड्दा ६ लाख ६६ हजार ३ सय ७७ हुनेछ । जुन मत हाल प्रतिनिधिसभामा पाँचौं दल रहेको राप्रपाले प्राप्त गरेको समानुपातिक मत संख्याभन्दा बढी हो । राप्रपाको समानुपातिकतर्फ ५ लाख ८८ हजार ८ सय ४९ मत छ । यस्तै जनता समाजवादी पार्टी नेपालले समानुपातिकतर्फ ४ लाख २१ हजार ३ सय १४ मत प्राप्त गरेको थियो ।

प्रदेशसभातर्फ नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेशसभामा ७, लुम्बिनीमा ४ र मधेश प्रदेशमा एक सांसद छन् । जनमतबाट लुम्बिनीमा ३ र मधेशमा १३ जना सांसद छन् । पार्टी एकीकरणपछि लुम्बिनी प्रदेशसभामा ७ र मधेश प्रदेशमा १४ सांसद हुनेछन् । प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ नागरिक उन्मुक्तिले ३ लाख १९ हजार १ सय ५८ र जनमतले ५ लाख २५ हजार ६ सय ८७ मत ल्याएका थिए । दुवै जोड्दा ८ लाख ४४ हजार ८ सय ४५ मत हुन्छ ।

एकीकरणपछि बन्ने पार्टीले राष्ट्रिय र प्रदेशको राजनीतिमा निर्णायक भूमिका खेल्ने जनमतका अध्यक्ष राउतले बताए । ‘तराई–मधेश र पहाडका सीमान्तकृत समुदायका लागि यो एकता खुसीको कुरा हो’ उनले भने, ‘यसले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास छ । आगामी दिनमा सबै जिल्लामा संगठन विस्तार हुनेछ । यो एकता अघि बढ्ने पहिलो खुट्किलो हो ।’ नागरिक उन्मुक्तिका महासचिव गंगाराम चौधरीले पार्टी एकताले नेता तथा कार्यकर्तामा उत्साह थपेको बताए । ‘संघमा हामी छैटौं दल हुनेछौं । पार्टी एकताले मधेशवासी र थारू मात्र होइनन्, हिमाल, पहाड सबैतिरका साथी उत्साहित छन्,’ उनले भने ।

स्थानीय तहतर्फ नागरिक उन्मुक्तिबाट सुदूरपश्चिममा दुई नगर प्रमुख छन् । कैलालीको टीकापुर नगरपालिका र भजनी नगरपालिकामा नागरिक उन्मुक्तिका प्रमुख छन् । यस्तै कैलालीमै जानकी र जोशीपुर गाउँपालिकाका अध्यक्ष नागरिक उन्मुक्तिबाट छन् । कैलालीकै भजनी नगरपालिकामा उपप्रमुख, जोशीपुर गाउँपालिकामा उपाध्यक्ष नागरिक उन्मुक्तिबाट छन् । कैलालीमा १४ वडाध्यक्ष पनि नागरिक उन्मुक्ति पार्टीले जितेको छ । जनमत पार्टीबाट स्थानीय तहमा मधेश र लुम्बिनीमा विभिन्न पदमा १९ जनप्रतिनिधि छन् ।

प्रकाशित मिति: २०८२ बैशाख १६, मंगलवार २३:५१

तपाईको प्रतिक्रिया !