‘नागरिक जनमत पार्टी’को केन्द्रीय पदाधिकारी २५ सदस्यीय रहने

‘नागरिक जनमत पार्टी’को केन्द्रीय पदाधिकारी २५ सदस्यीय रहने
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १४, आईतवार १०:३८
‘नागरिक जनमत पार्टी’को केन्द्रीय पदाधिकारी २५ सदस्यीय रहने

काठमाडौं : डा.सीके राउत नेतत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच आउँदो वैशाख १७ गते एकता हुँदैछ र बन्दैछ— नागरिक जनमत पार्टी अर्थात् नाजपा।

एकतापूर्व दुबै पार्टीले बैठक बोलाएका छन्। ती बैठकले आपसमा एकता गर्ने निर्णय गर्नेछन् र पार्टी एकता प्रक्रियामा समाहित हुनेछन्।

एकताका लागि तयारी पूरा भएको दुबै तर्फका नेताहरूले बताएका छन्। नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भनिन्, ‘लगभग तयारी पूरा भएको छ। १७ गतेसम्म पूरा भइसक्छ र एकता घोषणा हुन्छ।’

जनमतका प्रवक्ता डा. शरदसिंह यादव पनि एकताका लागि आफूहरू तयार रहेको बताउँछन्। आफूहरू अघि नै पनि तयारी नै रहेको उल्लेख गर्दै प्रवक्ता यावले भने, ‘अब एकीकृत रूपमा अगाडि बढ्ने पक्का भइसक्यो। एकता भइहाल्छ।’

एकीकृत पार्टीबारे

दुई पार्टी एकीकृत भएपछि बन्ने नयाँ पार्टीको नाम नागरिक जनमत पार्टी हुने भएको छ। यसका लागि सहमति भइसकेको नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन्।

नेताहरूले बताएअनुसार नागरिक जनमत पार्टीको केन्द्रीय पदाधिकारी २५ सदस्यीय हुनेछ। यस्तै केन्द्रीय समिति भने ७०० सदस्यीय हुनेछ।

पार्टीको चुनाव चिह्न ढकिया नै रहने भएको छ। यसअघि ढकिया नागरिक उन्मुक्तिको चुनाव नै चिह्न हो। पार्टीको झण्डा भने वैजनी रङको चौकुने आयातभित्र ढकिया हुनेछ।

एकतापछि सात प्रदेशमध्ये जनमत र नागरिक उन्मुक्तिले क्रमश: ३/३ वटामा नेतृत्व लिनेछन्। त्यसमध्ये सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा नागरिक उन्मुक्तिले र कोशी, मधेश र गण्डकीमा जनमतले नेतृत्व गर्नेछन्। बागमतीमा भने दुई अध्यक्षात्मक प्रणाली अपनाइने नेताहरूले बताएका छन्।

एकीकृत पार्टीको नेतृत्वबारे

नागरिक जनमत पार्टीको अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके राउत) रहनेछन्। उनी जनमत पार्टीका अध्यक्ष हुन्। उनलाई एकीकृत पार्टीको पनि अध्यक्ष बन्ने मौका मिलेको छ।

यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी एकीकृत पार्टीकी सहअध्यक्ष रहनेछिन्।

पार्टीको संरक्षक भने रेशम चौधरी रहनेछन्। उनी नागरिक उन्मुक्तिका संरक्षक हुन्। उनलाई एकीकृत पार्टीको संरक्षक नै बन्ने मौका मिलेको छ। उनी सहअध्यक्ष रञ्जिता श्रेष्ठकी पतिसमेत हुन्।

प्रकाशित मिति: २०८२ बैशाख १४, आईतवार १०:३८

तपाईको प्रतिक्रिया !