सीके राउतलाई भेटेपछि रञ्जिताले भनिन् :अब हामी छुट्टाछुट्टै क्षेत्र होइनौं,एउटै आन्दोलन हौं

सीके राउतलाई भेटेपछि रञ्जिताले भनिन् :अब हामी छुट्टाछुट्टै क्षेत्र होइनौं,एउटै आन्दोलन हौं
मधेशपत्र मधेशपत्र २०८२ बैशाख ११, बिहीबार २०:४१
सीके राउतलाई भेटेपछि रञ्जिताले भनिन् :अब हामी छुट्टाछुट्टै क्षेत्र होइनौं,एउटै आन्दोलन हौं

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई जनमत पार्टी कार्यालयमा स्वागत गरिएको छ।

बिहीबार मध्य बानेश्वरस्थित जनमत पार्टी कार्यालयमा पार्टी अध्यक्ष डा. सीके राउतले श्रेष्ठलाई स्वागत गरेका हुन्। दुई पार्टीबीच वैशाख १७ गते एकता घोषणा हुँदैछ। त्यसैको तयारीस्वरुप नाउपा अध्यक्ष श्रेष्ठ जनमत पार्टी कार्यालय पुगेकी हुन् ।

ADVERTISEMENT

जनमत पार्टी कार्यालयको तस्बिर सार्वजनिक गर्दै अध्यक्ष श्रेष्ठले वैशाख १७ गते इतिहास बदल्ने दिन रहेको उल्लेख गरेकी छन्। उनले जनमत र नाउपाको माटो र आवाज पनि एकै भएकाले एकता सम्भव भएको प्रस्ट पारेकी छन्।

उनले दुई पार्टीबीचको एकता केवल राजनीतिक निर्णय नभएर मधेस र सुदूरपश्चिमका जनताको आँशु, संघर्ष र सपना सँगाल्ने निर्णय भएको बताइन्।

‘मधेसका ती गर्मीको डिलमा पसिना बगाउने किसान होस् वा थरुहट-पश्चिमका जंगल र खोलामा अधिकार खोज्ने युवा, सबैको घाउ एउटै थियो, बेवास्ता। सबैको चाहना एउटै हो, सम्मान। आज, हामी मधेस र सुदूरपश्चिमको मुटुलाई जोड्दैछौं। हामी एउटै माटोका सन्तान हौं।

जहाँ मधेसको सास फुक्दछ, त्यहीँ थरुहटको मुटु धड्कन्छ। यो एकता, विभाजनको अन्त्य हो। यो एकता, हाम्रो पहिचान, सम्मान र अधिकारका लागि साझा यात्रा हो। अब हामी छुट्टाछुट्टै क्षेत्र होइनौं, एउटै आन्दोलन हौं। एउटै सपना हौं, समानताको, स्वाभिमानको, समावेशी राष्ट्रको,’ उनले भनेकी छन्।

प्रकाशित मिति: २०८२ बैशाख ११, बिहीबार २०:४१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !