जनमत र नाउपाबीच पार्टी एकता घोषणा १५ बैशाखमा हुने

जनमत र नाउपाबीच पार्टी एकता घोषणा १५ बैशाखमा हुने
मधेशपत्र मधेशपत्र २०८१ चैत्र २४, आईतवार २०:१२
जनमत र नाउपाबीच पार्टी एकता घोषणा १५ बैशाखमा हुने

बर्दिया : जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी एकतापछिको नाम नागरिक जनमत पार्टी राख्न दुवै दल सहमत भएका छन् । आइतबार बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा बसेको एकता कार्यदलको बैठकले नाम र चुनाव चिह्नमा सहमति गरेको हो ।

कार्यदलमा समेत रहेका जनमतका उपाध्यक्ष अब्दुल खानले चुनाव चिह्न ढकिया राख्ने निर्णय भएको जानकारी दिए । ढकिया नागरिक उन्मुक्ति पार्टीको चुनाव चिह्न हो । आयातकार आकारको झण्डाको बीचमा ढकिया राखिने खानले जनाएका छन् ।

एकतापछिको पार्टीको संरक्षकमा रेशमलाल चौधरी र कार्यकारी अध्यक्षमा सीके राउत रहने उपाध्यक्ष खानले जानकारी दिए । त्यस्तै नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने तेस्रो वरीयताकी नेताका रूपमा रहने सहमति भएको छ ।

क्षेत्रको हिसाबले चितवनदेखि झापासम्म राउतलाई जिम्मा दिइएको छ । चितवनदेखि पश्चिम रेशमलाल चौधरीलाई जिम्मेवारी मस्यौदा समितिले दिएको छ । केही दिनपछि कार्यसमितिको बैठक बसेर एकता प्रक्रिया टुंग्याइने नेताहरूले जनाएका छन् । वैशाख देस्रो साताभित्र पार्टी एकीकरणको विषय टुंगो लगाई वैशाख १५ गते घोषणा गरिने जनमतका उपाध्यक्ष खानले बताए ।

मधेश र तराईमा गत आमनिर्वाचनमा उदाएका जनमत र उन्मुक्ति पार्टी एकताका लागि बर्दियाको मधुवन नगरपालिकाको अमरपुरमा पहिलो कार्यदलको बैठक बस्नुअघि जनमतका अध्यक्ष राउत र नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीबीच गुलरियामा छलफल भएको थियो । पार्टी एकीकरणका लागि वैशाख ५ र ६ गते टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको बैठक बस्ने चौधरीले बताए ।

संचारकर्मीसंग संक्षिप्त कुराकानीमा जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय दलका आधारमा राष्ट्रिय दलको हैसियतले एकीकरणको नेतृत्व आफ्नो पार्टीले लिने बताए । एकीकरणका लागि दुवै पार्टीबीच कुनै माग नभएको उल्लेख गर्दै अध्यक्ष राउतले भने, ‘केही कुरामा समझदारी नभए दुवै पार्टीले अडान छाड्नै छौँ । एकीकरणको मुद्दा छिट्टै टुंगाउने छौ । पहिचानको मुद्दा दुवै पार्टीको हो ।’

मस्यौदा समितिको बैठकमा दुवै पार्टीका उच्चस्तरीय नेताहरूको सहभागिता रहेको छ । बैठक अझै जारी छ । नेताहरूले आगामी निर्वाचनमा तराई/मधेशमा पहिचानवादी निर्णायक शक्ति बन्ने लक्ष्यका साथ पार्टी एकता हुने बताएका छन् ।

गत प्रतिनिधिसभा चुनावमा नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षतर्फ ४ र जनमतले १ सिट जितेको थियो । जनमतले समानुतिकतर्फ ५ सिट जितेको थियो । प्रदेशतर्फ सबैभन्दा बढी सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । त्यस्तै लुम्बिनीमा ४ र मधेशमा १ सांसद छन् । त्यस्तै मधेशमा जनमतका १३ र लुम्बिनीमा ३ सांसद छन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा १४ सांसदसहित एकीकरणपछि पनि चौथो दलका रूपमा रहनेछ ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ५ औं र ६औं स्थानमा रहेका नाउपा र जनमत एक भए चौथो स्थानमा पुग्नेछ ।

प्रकाशित मिति: २०८१ चैत्र २४, आईतवार २०:१२

तपाईको प्रतिक्रिया !