सप्तरीका एसपीलाई निलम्बन गर्ने माग गर्दै प्रहरीप्रशासनविरुद्ध प्रदर्शन

सप्तरीका एसपीलाई निलम्बन गर्ने माग गर्दै प्रहरीप्रशासनविरुद्ध प्रदर्शन
मधेशपत्र मधेशपत्र २०८१ माघ १३, आईतवार २२:२८
सप्तरीका एसपीलाई निलम्बन गर्ने माग गर्दै प्रहरीप्रशासनविरुद्ध प्रदर्शन

राजविराज : रकम दोब्बर पारिदिन्छु भन्ने भ्रम छरेर ठगी गर्दैआएको हनुमानी भन्ने रामबहादुर रजक गिरोहका मतियार सप्तरीको तिलाठीकोईलाडी गाउँपालिका वडा नम्बर ७ बभनगामाका ४२ वर्षीय वैद्यनाथ यादवलाई सप्तरी प्रहरीले उन्मुक्ति दिने प्रयास गरिरहेको छ ।

यादवलाई ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा अदालतबाट अनुमति लिएर अनुसन्धानका लागि गत बुधबार बिहान सप्तरी प्रहरीले पक्राउ गरेको थियो । तर, उनलाई १० घण्टा नबित्दै स्वास्थ्यको कारण देखाउँदै परिवारको जिम्मामा साँझ छाडेको थियो ।

यादव र हनुमानीविरुद्ध १३ वटा जाहेरी परेको सप्तरी प्रहरीका प्रवक्ता जितेन्द्र बस्नेतले बताएका छन् । अहिलेसम्म यो समूहले करिब अढाइ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ परेलगत्तै सप्तरी प्रहरीका प्रमुख एवम् प्रहरी उपरीक्षक डेकेन्द्र खतिवडाले स्वास्थ्योपचारका लागि भन्दै अस्पताल भर्ना हुन अनुमति दिएका थिए । सामान्य स्वास्थ्यस्थितिमा उनलाई अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालले थप उपचार गरिरहन भनी डिस्चार्ज गरेपछि पनि यादवलाई पक्राउ गरिएको छैन । प्रहरी उपरीक्षक खतिवडाले ठगी गिरोहका प्रमुख आरोपी मानिएका यादवलाई जनता समाजवादी पार्टी नेपालको चर्को दबाब र मिलेमतोमा उपचारपछि पक्राउ नगरेको बताइएको छ ।

प्रहरी उपरीक्षक खतिवडाले ठगीविरुद्ध उजुरी दिएकाहरूलाई यादवको नाउँ हटाई अर्को उजुरी दिए कारबाही अघि बढाउने भनिरहेका छन् । यता ठगी काण्डका आरोपी यादवले हिरासतबाहिर भएका बेला ठगीका पीडितहरूलाई खुलेआम धाकधम्की दिइरहेका छन् ।

उजुरी दिएका पीडितहरूले भने आरोपीहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयअगाडि आइतबार प्रदर्शन गरेका छन् । उनीहरूले आरोपी छाड्ने र अनुसन्धानमा उदासीनता देखाउने प्रहरी उपरीक्षक खतिबडालाई निलम्बन गरेर भए पनि ठगी काण्डका आरोपीलाई कारबाही गरिनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: २०८१ माघ १३, आईतवार २२:२८

तपाईको प्रतिक्रिया !