प्रतिष्ठानको जग्गा स्वास्थ्यमन्त्री पौडेलले गरे निरीक्षण

प्रतिष्ठानको जग्गा स्वास्थ्यमन्त्री पौडेलले गरे निरीक्षण
लोकेन्द्रप्रसाद यादव लोकेन्द्रप्रसाद यादव २०८१ कार्तिक २०, मंगलवार १६:३३
प्रतिष्ठानको जग्गा स्वास्थ्यमन्त्री पौडेलले गरे निरीक्षण

राजबिराज : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले राजविराजमा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको संरचना निर्माणको कार्य चाँडै सुरु हुने बताएका छन् ।

आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षणको क्रममा स्वास्थ्यमन्त्री पौडेलले यस्ता बताएका हुन् ।

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रस्तावित निर्माणस्थल राजविराज-१० विरौलमा मन्त्री पौडेलले जग्गाको निरीक्षण समेत गरे ।

देशकै गौरबको रूपमा रामराजा प्रतिष्ठानको विकास गर्ने सोचका साथ सरकार अघि बढेको बताउँदै मन्त्री पौडेलले प्रतिष्ठानकोलागी जग्गा प्रसस्त रहेको र प्रतिष्ठानको नाममा आइसकेकाले अब थप काम चाँडै अघि बढ्ने जानकारी दिए ।

वातावरणीय प्रभाव मूल्यांकन स्वास्थ्य मन्त्रालयबाट वन मन्त्रालयमा गइसकेको र त्यहाँबाट पास भएपछि पूर्वाधार निर्माणका टेण्डर गरी छिटो प्रतिष्ठान निर्माणको कार्य अघि बढ्ने मन्त्री पौडेलको भनाई छ ।

रामराजा प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका अध्यक्ष डा पशुपति चौधरीले सरकारले यसवर्ष रामराजा प्रतिष्ठान निर्माणका लागी ४० करोड रुपैयाँ बजेट छुट्याएको बताउँदै यसै वर्ष भित्र प्रतिष्ठानको भाैतिक संरचना निर्माण कार्यको टेन्डर भई कार्य सुरु हुने बताए ।

२०७५ साल पुस १६ गतेको मन्त्रिपरिषद्ले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । ०७८ जेठ २१ गतेको मन्त्रिपरिषद्को बैठकले राजविराज नगरपालिकाले उपलब्ध गराएको वडा नम्बर १० को ६२ बिघा जग्गा प्रतिष्ठान निर्माणको निर्णय गरेको थियो ।

प्रकाशित मिति: २०८१ कार्तिक २०, मंगलवार १६:३३

तपाईको प्रतिक्रिया !