छठपर्वका लागि कुटान पिसान सुरू

छठपर्वका लागि कुटान पिसान सुरू
मधेशपत्र मधेशपत्र २०८१ कार्तिक १९, सोमबार १४:१८
छठपर्वका लागि कुटान पिसान सुरू

जलेश्वर : महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि छठपर्वका लागि कुटान पिसान सुरू भएको छ।

छठपर्वमा गहुँ र चामलका विभिन्न पकवान बनाएर चढाउने चलन रहेकाले सोही पकवान पकाउनका लागि मिथिलानीहरू आजदेखि कुटान पिसान सुरू गरेका छन्।

ADVERTISEMENT

तराई मधेसमा गोधन पर्व सम्पन्न भइसकेपछि छठ पूजाका लागि कुटान पिसान सुरू गर्ने परम्परा रहेका कारण हिजो (आइतबार) तराई मधेसमा गोधन पर्व सम्पन्न गर्दै आजदेखि छठपर्वको कुटान पिसान सुरू गरिएको जलेश्वर नगरपालिका–८ की बर्तालु महिला राजवती देवीले बताइन्।

छठपर्वका लागि मिथिलाका घरघरमा आज बिहान अरबा चामल र चुनिएको गहुँ धोइ पखाली सुकाएर आजैदेखि चामल र गहुँ कुटान पिसान गरी आँटा तयार गरिने जलेश्वर–८ का अर्का बर्तालु महिला सुमित्रा देवीले बताइन्।

निकै चोखो र शुद्धताको पर्व मानिएको छठ व्रतका लागि कुटान पिसान गरिने चामल र गहुँ मिथिलानीहरूको घर, आँगन वा टोल छिमेकमा रहेको ढिकी र जाँतोमा गर्ने परम्परा छ। तर अहिले ढिकी र जाँतो अभाव हुन थालेपछि कतैकतै मिलमा पनि कुटान पिसान गरिन थालेको जलेश्वर–६ की बर्तालु महिला विनिता देवीले बताइन्।

आजका दिन एकाबिहानै मिथिलानीहरू आ–आफ्ना घरआँगन वा टोल छिमेकमा भएका ढिकी र जाँतोलाई शुद्ध र सफा पानीले धोएर पवित्र बनाएपछि गहुँ र चामल कुट्ने र पछि पुनः गहुँ र चामललाई धोएर सुकाएर पिध्ने गर्दछन्।

यसरी कुटान पिसानबाट तयार भएको पिठोले नै छठपर्वमा भगवान सूर्य र माता छठदेवीको अघ्र्यका लागि ठेकुवा, भुस्वा, खजुरिया, पेरूकियालगायत पकवान तयार गरिने जलेश्वर–२ की बर्तालु महिला कोसिला देवीले बताइन्।

छठपर्वमा चामल र गहुँकै पिठोबाटै तयार भएको ठेकुवा र भुस्वा नै प्रमुख प्रसाद रहने गरेका कारण यसलाई निकै शुद्धता र पवित्रताका साथ कुटान पिसान गरी पकवान तयारीसम्मको काम गरिन्छ। आजदेखि सुरू भएको कुटान पिसानका कारण छठबर्ती निकै उत्साहित र व्यस्त देखिएका छन्भने आजैबाट मिथिलाको घर आँगनमा छठपर्वको चहलपहल पनि बढेको छ।

प्रकाशित मिति: २०८१ कार्तिक १९, सोमबार १४:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !