कोशीमा खसेको बसबाट उद्धार गरिएकामध्ये १३ जना घाइते

कोशीमा खसेको बसबाट उद्धार गरिएकामध्ये १३ जना घाइते
मधेशपत्र मधेशपत्र २०८१ आश्विन १०, बिहीबार २१:३५
कोशीमा खसेको बसबाट उद्धार गरिएकामध्ये १३ जना घाइते

राजविराज: सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित कोशी नदीमा खसेको बसमा सबार १३ जना घाइते भएको पाइएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बस नगरपालिकाको वडा नम्बर १ कोशी व्यारेजको ३६ नम्बर ढोकाबाट नदीमा बिहीबार साँझ ६ बजेतिर खसेको हो । को.१ख ४६०१ नर्सिङ डिलक्स नामक बस कोशी व्यारेजको दक्षिणतर्फको रेलिङ भत्काएर बस नदीमा खसेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

बसमा सबार १७ जना यात्रुलाई स्थानीय र प्रहरी मिलेर तत्कालै उद्धार गरेका छन् । उद्धार गरिएकामध्ये १३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जना सप्तरीकै छन् ।

घाइतेहरुमा सप्तरीको कंचनरुप नगरपालिका १ बस्ने २० बर्षीय मौसम श्रेष्ठ, बलान बिहुल गाउँपालिका ३ बस्ने २८ बर्षीय सुलेन्द्र राम, हनुमाननगर कंकालिनी नगरपालिका ४ बस्ने भोला प्रसाद साह, रुपनी गाउँपालिका २ बस्ने २७ बर्षीया सरिता खातुन, सुरुङा नगरपालिका ५ बस्ने १५ बर्षीया रोकया खातुन, सोही ठाउँकी २५ बर्षीया रबिना खातुन, उनकी छोरीहरु ८ बर्षीया दलिना खातुन र ३ बर्षीया उमेरा खातुन घाइते भएका छन् ।

यस्तै, उदयपुरको चौदण्डीगढी नगरपालिका १ बस्ने ३८ बर्षीया अर्चना कुमारी शर्मा, वडा नम्बर २ बस्ने ७० बर्षीय हर्कबहादुर कटुवाल, मोरंगको सुन्दर हरैचा नगरपालिका ३ बस्ने ३४ बर्षीय दिलिप चौधरी, ३४ बर्षीया अनिता चौधरी, उनकी २ बर्षीया छोरी सुजाता चौधरी घाइते भएकी छन् ।

घाइतेमध्ये कतिपयको अनुहार र हातखुट्टामा चोटपटक लागेको र बिभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०८१ आश्विन १०, बिहीबार २१:३५

तपाईको प्रतिक्रिया !